A writer reflects on the years she stopped writing — the words she deleted, the notebooks she burned, and what it took to begin again.
आफैंलाई एकादेशको कथा जस्तो लाग्छ । “आपको लेख्ना हि नही आता । आपका एक भी आर्टिकल मे दम नही है । क्या लेख्ते हो आप?” भनेर मलाई त्यस व्यक्तिले भनेको थियो । मैले पत्याएँ । मैले यसरी पत्याएँ कि वर्षौंदेखि लेखेका सबै कथा लेख एकैपटकमा डिलिट हानिदिएँ । उसले मैले चलाइरहेको ब्लग उसलाई “ वेव डिजाइनिङ्ग प्रयाक्टिस गर्न चाहियो” भनेर माग्दा हुन्छ भनेर छोडिदिएँ । वर्ष मिति मलाई सम्झना छैन । सन् २०१४ नै हुनुपर्छ । त्यसपछि मैले लेख्न छोडें । मसँग जवाफ छैन, मैले किन लेख्न छोडें । “तिम्रो ब्लग आर्टिकल्स के ग¥यौ त? कहाँ ट्रान्सफर ग¥यौ?” भनेर दाजुले सोध्नुभएको थियो । कहीं गरेकि थिईंन । मलाई लेख्न आउँदैन र मैले लेखेका कुनै पनि लेख अरुले पढ्न योग्य छैनन् भनेर म विश्वस्त भइसकेकी थिएँ । तर पनि आफूले गरेका सिर्जना आफ्ना छोराछोरी जस्तै हुन्छन् । कति माया लाग्छ, शब्दले भन्न सकिन्न । ती सबै मेटाउँदा मैले आफैंलाई मेटाएजस्तो भएको थियो । म लुकेर रोएकी थिएँ । तर यत्तिका वर्ष लेख्दा पनि मैले कहिल्यै आफूले लेखेका कुरा कति राम्रा या नराम्रा छन् भन्ने समीक्षा किन गरिंन भन्ने प्रश्नले पनि दुःखी थिएँ । म भन्न सक्दिन मलाई के कुराले बढी दुःख लाग्छ — आफूले लेखेका सबै कविता, कथा, लेखहरु मेटाएकोमा, तिनको समीक्षा कहिल्यै पनि नगरेकोमा या त्यसपछि लेख्नै नसकेकोमा...लेख्न बिर्सेकोमा या लेख्न चाहँदै नचाहेकोमा...। दाजुले, “हाम्रो बोलीबाट हँटाए पनि ब्लगरमा ट्रान्सफर गर्नुपथ्र्यो नि । त्यसरी सबै हँटाउँछन् त?” भन्नुभयो । “हो नि है? ला...” भन्ने त लाग्यो, माया लाग्छ नि आफूले लेखेका कुराको । दाजुलाई सोधुँ जस्तो पनि लाग्यो, “दाजु मैले लेखेको पढ्नुभएको छ? के तिनका पनि पाठक होलान्? के ती ब्लगमा राख्न योग्य थिए?” यदि कसैले पढ्न योग्य थिए भने पनि, यदि मेरा आर्टिकलका पाठक थिए भने पनि, अब म फेरी ती लेख्न सक्दिन, मेटाइसकेकालाई अनडु गर्न सक्दिन । तर मैले त इ–शब्द समेत रित्तो बनाइदिएकी थिएँ । मसँग न नेपालीका न अंग्रेजीका लेख बाँकी थिए । म फ्रस्टेटेड थिएँ, डिप्रेस्ड थिएँ, दुःखी थिएँ, दिक्क थिएँ, के थिएँ? किन एकैपटकमा मैले सबै लेख मेटाइदिएँ?
कुरा यतिमै सकिंदैन । यसभन्दा ६–७ वर्ष अगाडिको पनि कहानी छ । स्कूल छँदा देखि मैले लेख्न थालेका कथा(?) तिनलाई नाटक भनुँ होला...त्यो शब्द अलिक मेल खाला... — मैले वर्षौंसम्म कसैलाई नदेखाई चाङ्गका चाङ्ग कापिमा लेखेका अनेक नाटकहरु एकदिन च्यातेर आगो लगाइदिएँ । एकजना साथीलाई मैले देखाएकी थिएँ, उनले आफ्नो अर्कि साथीलाई देखाएकी थिइन् । उनीहरुको प्रतिक्रिया थियो, यी नाटक त एकता कपुरका टेलिसिरियल जस्ता लागे । मैले किन ती नाटकहरु च्यातें भन्न सक्दिन तर तिनको मायाले म त्यसरी रोईंन । मलाई धेरै दुःख पनि लागेन किनकि मैले न त तिनलाई छपाउने नै सोचेकी थिएँ न त ती टेलिसिरियल नै बनाउने कुनै इच्छा थियो । घर सर्दा सधैं बोकेर हिंड्न पनि गाह्रो र त्यो बेला मलाई कम्प्युटरमा टाइप गरेर कुनै हार्ड ड्राइभमा राखौं या ब्लगमा पोष्ट गरौं भन्ने ज्ञान पनि आएको थिएन । ती नाटक रोचक अवश्य थिए जस्तो लाग्छ तर कसैले पढेर बस्ला भन्ने मलाई उत्ति आशा पनि थिएन । बरु मै आफैं पढ्दी हुँ समय मिलाएर यदि ती अझै थिए भने...सायद अहिले भए टाइप गरेर कहीं तिनको राम्रै व्यवस्थापन गर्थें पनि होला...। खैर...।
सबै कुरा बानी हो । लेख्ने, बोल्ने, पढ्ने, खेल्ने, हिंड्ने, नाच्ने...नलेख्ने, नबोल्ने, नपढ्ने, नखेल्ने, नहिंड्ने, ननाच्ने सबै बानी हो । हाँस्ने, रुने, नहाँस्ने, नरुने...सबै बानी हो । हामीले आफूलाई जे कुरामा ट्रेन गर्छौं त्यही सहज लाग्छ, प्राकृतिक लाग्छ, गरिरहन आउँछ र मन परे पनि नपरे पनि बानी बन्छ । स्कूल छउञ्जेल हरेक वर्ष कविता प्रतियोगितामा भाग लिनैपथ्र्यो । दाजुले “नआए पनि लेख” भन्नुहुन्थ्यो । लेख्न मन लाग्थ्यो । कक्षा १० मा हुँदा मैले कविता प्रतियोगितामा भाग लिईंन । हाउस क्याप्टेन दिपेश थापाले आएर “तिमीले किन कविता वाचन नगरेको?” भन्दै रिसाएको र “मन लागेन, गरिंन । तिमी आफैंले गर्नुपथ्र्यो नि!” भनेर ओठेजवाफ फर्काएको मलाई अझै सम्झना छ । त्यसदिन मलाई लागेको थियो, दाजु स्कूलमा छउञ्जेल मैले गरेकी रहेंछु, दाजुले स्कूल छोडेपछि म मनमौजि भएँछु भनेर । अनि हो, मैले कविता प्रतियोगितामा भाग लिनपथ्र्यो भनेर पनि लागेको थियो । त्यसैले मैले लेखिरहनुपर्छ भनेर मैले निरन्तर कविता, कथा, नाटक, र गन्थन लेखिरहें । लेख्न ठ्याप्पै छोडेको २०१४ पछि नै हो जब मैले आफ्ना ब्लगहरु खालि गरिदिएँ । २०२३ मा रुकमणीले भनिन्, “गमला तिमी लेख्नको लागि बनेको हौ । लेख । आफूभित्र जे जति छ सबै लेख, विस्तारै विस्तारै । फेरि पहिलेजस्तै हुन्छौ ।” यो कुराले मलाई खुब छोयो तर मैले लेख्न सुरु गर्न सकिंन । लेख्दै थिएँ कविताजस्ता केही कुराहरु तर तिनमा आवेग र असन्तुष्टी बढी थियो अनि मभित्र पनि । हुन त आफूभित्र जे छ त्यही नै बाहिर अभिव्यक्त हुने हो । जे छैन त्यो कसरी व्यक्त गर्ने? मैले चित्तमा पत्र पत्र बनेर बसेका स्मृतिलाई टाटा बाइबाइ भन्न लेख्नैपर्ने भएको थियो, तर म लेख्न सकिरहेकी थिईंन । “कहाँबाट सुरु गर्ने नै थाहा छैन ।” मैले रुकमणीलाई भनेकि थिएँ । के लेख्ने भनेर बस्दा भावहरु उथलपुथल होलान् र म तिनलाई सम्हाल्नै नसकुँला भन्ने पनि लाग्थ्यो, म डराइरहें । कतै म कसैलाई गालिमात्र गरिरहेकी पो भेटिन्छु कि, आफूले गरेका गल्तीहरु अरुमाथि थोपरिरहेकी भेटिन्छु कि, आफ्ना कमजोरी लुकाउन खोज्दै झन् झन् खोक्रो बन्छु कि...सायद यी सबै डर थिए मभित्र । मलाई थाहा छ मेरा थुप्रै कमजोरी छन् र मैले धेरै गल्ती गरेकी छु । अरु कसैमाथि गरेका गल्तीहरुभन्दा बढी मैले आफैंमाथि गरेका गल्तीहरुले मलाई प्रश्न गर्छन् र मसँग जवाफ नभएपनि म ती गल्तीहरुको लागि आफैंसँग क्षमा माग्न र आफूले आफूलाई नै क्षमा गर्न आज यहाँ उभिएकी छु । ती लेखहरु जसको मैले निर्मम हत्या गरें, तिनीहरुसँग क्षमायाचना! मैले बिर्सिएकी छैन कि कुनै दिन पढ्न र लेख्न नै मलाई सबैभन्दा बढी मनपथ्र्यो । म फेरि त्यसरी नै पढ्न र लेख्न चाहन्छु । यो लेखबाट नै सुरुवात गरुँ...
