नयाँ सुरुवात - A New Beginning

A writer reflects on the years she stopped writing — the words she deleted, the notebooks she burned, and what it took to begin again. 


जनकपुरधाम । सन् २०२५ को अगस्ट महिना । कामको सिलसिलामा रुकमणी जनकपुर आएकि थिइन् । मलाई फोन गरिन् । अफिसपछि केहीबेर हामीले म जनकपुर आउँदा बस्ने गरेको अपार्टमेन्टमा भेट्यौं । मैले माइक्रोवेभमा आलु पोलें । उनले लण्डनमा आफूले पोलेको आलु खुब खाएको अनुभव सुनाइन् । 

रुकमणीसँगको त्यसदिनको भेटमा अरु धेरै कुरा भए – व्यक्तिगत, कामका, अनुभव र जीवनका उचारचढावका । तर उनले भनेको यो कुराले मलाई पटकपटक झक्झकायोः "गमला, तिमी लेख्न बनेको हौ, लेख ।" उनले के के भनिन् त्यो ठ्याक्कै म सम्झिन्न, मैले जे सुनें तयो यस्तो थियोः "जे भयो, त्यो लेख, आफ्नो बारेमा लेख । व्यक्त गरेपछि बल्ल नयाँ बाटो खुल्छ ।" मैले झ्यालबाट अलिकति देखिने क्षितिजनिरको आकाश हेरें । साँझको समय, पूर्वतिरको दृश्य । आकाश छुने ठाडो टेलिकम टावरले मेरो ध्यान अल्झाइरहन्छ । मेरो आँखा अगाडिको आकाशमा यो टावरको हिस्सा पनि पर्छ । "कहाँबाट सुरु गर्ने नै थाहा छैन ।" म निस्कें भनेर पनि अझै अड्कि नै रहेकि छु सायद । "जहाँबाट सुरु गरे पनि हुन्छ । यहींबाट सुरु गर । पत्रिकाको लागि लेख्ने हो भने अलिकति रिसर्च गरेर तथ्यांक हालेर लेख्नुपर्छ । अस्पतालमा काम गर्छयौ, यहाँका महिला र स्वास्थ्यको बारेमा लेख । या जे पनि, जो तिमीलाई मन छ लेख्न । तर लेख । कहींबाट त सुरु गर ।"

 

सन् २००४ देखि हामी एकअर्कालाई जान्दछौं । भारत बसाइका वर्षहरुमा मैले साथीहरुसँग सम्बन्ध राखिंन । तर त्यसअघि र पछिका वर्षहरुमा म उनीसँग नजिक नै छु । मेरो लागि नजिकको सम्बन्ध भन्नु नै केही महिना या वर्षमा एकाध पटक कुरा हुनु र कुरा हुँदा सधैं सँगै भएजस्तो हुनु हो । नजिक हुन भेट्नु पर्दैन, कुरा पनि गरिरहनु पर्दैन मात्र आवश्यकता पर्दा साथमा भएको अनुभूति हुनुपर्छ । मेरा अधिकतर सम्बन्धहरु यसै सिद्धान्तमा टिकेका छन् । 

रुकमणीका सल्लाह राम्रा लागे तर मैले लेख्न कलम पकडिंन । यदाकदा लेख्छु र धेरै दिनसम्म तिनैलाई सम्झिरहन्छु यौवनमा दिनहुँ भेट हुने क्रसजस्तो । शब्द शब्द, वाक्य वाक्य... आज उसले मलाई हे¥यो, आज ऊ मुस्कुरायो, आज उसले हाइ भन्यो, आज ऊ आएन, आज म ढिलो भएँ समय मिलेनछ... दोहो¥याई तेहे¥याई सम्झना । तर नयाँ लेख्ने जाँगर शरीरमा आउँदैन । इच्छाशक्ति भन्ने कुरा कति महत्वपूर्ण छ । मरेको इच्छालाई जगाउन समुन्द्र मन्थन गरेर अमृत निकालेर घटघट पिउनुपर्ने रहेछ । आफूले आफैंलाई बारम्बार प्रेरित गर्नुपर्ने । तिमी लेख्नको लागि बनेको हौ भन्दै आफूलाई भनिरहँदा म नार्सिसिस्ट बन्दैछु कि भनेर डर पनि लाग्ने । 

मैले रुकमणीलाई आफूले जनकपुर बसाइका क्रममा लेखेका केही कविताहरु पठाएँ । उनले तिनलाई केही मिलाएर पत्रिकामा छाप्न पठाउनुपर्ने र समय सापेक्ष लागेकाले एउटालाई तत्कालै त्यस परिस्थिति सुहाउँदो बनाइहाले छाप्न दिन मिल्ने र छापिने कुरा गरिन् । मैले फेरि केही गरिंन । सेप्टेम्बरको मध्यतिर म त्यो मुडमा थिईंन । सेप्टेम्बर ८ र ९ (भदौ २३ र २४ गते) को घटनापछि मैले आफूलाई लेख्नबाट रोक्न नसकेर लेखें । भित्रका रीस, घृणा, उथलपुथल सब ओकलें । सायद त्यही घटनाले मेरो लेखनको नयाँ सुरुवात गरेको हुनुपर्छ । त्यसपछिका दिनमा मलाई लेख्ने कुरा मनमा आएको आयै गर्न थाले, कति भाव मैले समय नै दिन नपाएर पोख्न सकिंन । कतिपय आफूभित्रको आक्रोश किन छाप्ने भनेर छोडिदिएँ । केही समय आन्दोलनका चोटहरुसँगै आफूभित्रको आफूलाई मल्हम पट्टी गर्नमा लाग्यो । कतै छोराछोरीलाई तानाशाही ढंगले मार्नेहरुले देशलाई नै आर्यघाट बनाउने हुन् कि भनेर डर पनि लागिरह्यो । म जनकपुरमा थिएँ । ममी ड्याडी र छोरी काठमाडौंमा । तनावको स्थिति त्यता पनि थियो, यता पनि । समाचार सुन्न हेर्न सक्दिन थिएँ । साँच्चै, यो आन्दोलनको दृश्य स्क्रिनमा हेरेदेखि मलाई रगत देख्नुले गाह्रो हुनथालेको छ । रगत देख्दैमा रिंगटा लाग्छ र बेहोस हुन्छु जस्तो हुन्छ । जसको आफ्नो हातमा साथीहरुका शरीर ढले, तिनलाई कस्तो भएको होला...? तिनले कसरी मन बुझाएका होलान्...? मैले परमगुरु स्मरण गरें । प्रार्थना गरें । प्रकृतिमातासँग प्रार्थना गरें । आफूलाई सम्झाउनु सम्हाल्नु र आक्रोशबाट निस्केर शान्तिको लागि काम गर्नु शारीरिक, मानसिक, सामाजिक सबै रुपले जरुरी लाग्यो । अरु कसैलाई काम नलागे पनि म आफूलाई त काम लाग्छ भनेर मैले मानव जीवनको अनमोलता लेखें । यो अरु कसैलाई पाठ पढाउने उद्देश्यले आएको हैन, आफूलाई आफैंले सम्झाउने क्रममा आएको हो । 

भदौ २३ र २४ को जेन–जी आन्दोलनले मलाई यही सिकायो, वर्षौं थुपारेर राखेका क्रोशहरु जब आगो बनेर निस्कन्छन् तब कसैले रोक्न सक्दैन । र यो देशमा जसरी नै व्यक्तिमा पनि त लागु हुन्छ । मर्नुभन्दा बौलाउनु निको भनेजस्तै बौलाउनुभन्दा बेलैमा बोल्नु निको । अभिव्यक्ति स्वतन्त्रता छ भने उपयोग पनि गर्नुपर्छ । मेरो व्यक्तिगत कथामा कसैलाई चासो नहोला, ठीकै हो, तर अरबौं मान्छेहरुमा मजस्तै मान्छे पनि त होलान् नि? म संसारकै अजुबा त पक्कै होइन । 

मैले अब विस्तारै त्यो सबै लेख्नु छ जो सब मभित्र गुन्द्रुक जसरी खाँदिएर बसेका छन् । हरेकलाई निकालेर एक एक लाई आइरन गरेर सीधा बनाउनुछ अनि हेर्नुछ तिनमा खास के छ, जसले मलाई म बनाए । मैले निकालेकोमा पहिलो थियो दिदी दौडंदै ठूलोममीहरुको घरको सींढी उक्लिनुभएको दृश्य । काठको घर छँदाको त्यो सींढि हामी चढेको मलाई त्यस्तो सम्झना छैन । दशैंमा टीका लगाउन सायद चढ्थ्यौं क्यारे । त्यही सम्झनालई अक्षरमा उतार्दै मैले रजस्वलाको बारेमा लेखें । रजस्वलाका टिपिकल अनुभव अरु थुप्रै छन्, फेरि कुनैदिन लेख्नुपर्ला । लेख्न त दिदीको बारेमा पनि धेरै कुरा छन् । दिदी, जसले मैले मुखले बोल्दै नबोलेका, मनभित्रै दबाएका कुरा पनि सुनेर तिनको जवाफ समेत दिनुहुन्छ । दिदी, जसले मैले गर्न चाहेका तर नसकेका धेरै कामहरु क्षणभरमा गरिदिएर जीवन सहज बनाइदिनुहुन्छ । दिदी, जसको हुनुले मलाई कहीं कतै नडराई, नझुकी, नरोकिई र आफूमाथि शंका नगरी जीवन बाँच्न सम्भव बनाएको छ । धेरै कुरा छन् लेख्नुपर्ने । आज यस लेखभित्र लेखेर सकिंदैन ।

दोस्रो टुक्रा निकाल्दा सुमित्रा मिस निस्कनु भयो । रुपको व्याख्यामा अल्झाउने कोशिस होइन, तर वहाँको सम्झना गर्दा मेरा आँखा अघि वहाँका कैला ठूला आँखा, चौडा निधार, मसिना ओठको प्यारो मुस्कान कुर्थाको सललाई पछाडि र अगाडि घुमाएर बाँध्ने शैली स्पष्ट आउँछन् । एकवर्ष मात्र वहाँको विद्यार्थी भएर पढियो तर वहाँले दिएको प्रेरणा जीवनभरीको लागि छ । 

अब निस्किएको अर्को टुक्रामा माओवादी आन्दोलनले हाम्रो परिवारलाई पारेको असरबारे छ । लेख्नेछु यसबारेमा । अलिकति समय चाहिन्छ त्यो लेखेर सिध्याउनलाई । त्यो लेखेपछि मात्र अर्को के छ हेर्न सकिन्छ । अहिलेलाई त्यो समयमा फर्कौं जहाँबाट मैले लेख्न छोडें । 

स्कूल छँदा देखि मैले लेख्न थालेका कथा(?) तिनलाई नाटक भनुँ होला...त्यो शब्द अलिक मेल खाला... — मैले वर्षौंसम्म कसैलाई नदेखाई चाङ्गका चाङ्ग कापिमा लेखेका अनेक नाटकहरु एकदिन च्यातेर आगो लगाइदिएँ । एकजना साथीलाई मैले देखाएकी थिएँ, उनले आफ्नो अर्कि साथीलाई देखाएकी थिइन् । उनीहरुको प्रतिक्रिया थियो, यी नाटक त एकता कपुरका टेलिसिरियल जस्ता लागे । ओहो, साँच्चै हो र? भनेर म दुःखी भएकी थिएँ । मैले एकता कपुरका टेलिसिरियल नहेरे पनि बुनु दिदीले सुनाउनुभएका कहानी अनुसार ती असाध्यै लामा र पट्यारलाग्दा हुन्छन् भन्ने मैले बुझेकी थिएँ । सायद यसैकारण मैले तिनीहरुबाट मुक्त हुने निधो गरें, जो गलत निर्णय थियो, तर तिनको मायाले म रोईंन । मलाई त्यसबेला दुःख पनि लागेन किनकि मैले न त तिनलाई छपाउने नै सोचेकी थिएँ न त ती टेलिसिरियल नै बनाउने कुनै इच्छा थियो । घर सर्दा सधैं बोकेर हिंड्न पनि गाह्रो र त्यो बेला मलाई कम्प्युटरमा टाइप गरेर कुनै हार्ड ड्राइभमा राखौं या ब्लगमा पोष्ट गरौं भन्ने ज्ञान पनि आएको थिएन । ती नाटक रोचक अवश्य थिए जस्तो लाग्छ तर कसैले पढेर बस्ला भन्ने मलाई उत्ति आशा पनि थिएन । बरु मै आफैं पढ्दी हुँ समय मिलाएर यदि ती अझै थिए भने...सायद अहिले भए टाइप गरेर कहीं तिनको राम्रै व्यवस्थापन गर्थें पनि होला, तर ती छैनन् ।

सन् २०१४ । विवाहको केही महिना पछिको कुरा हो । जस व्यक्तिसँग मैले विवाह गरेकि थिएँ, उसले मलाई भन्यो, “आपको लेख्ना हि नही आता । आपका एक भी आर्टिकल मे दम नही है । क्या लेख्ते हो आप?” मैले पत्याएँ । मैले यसरी पत्याएँ कि वर्षौंदेखि लेखेका सबै कथा लेख एकैपटकमा डिलिट हानिदिएँ । उसले मैले चलाइरहेको ब्लग उसलाई “वेव डिजाइनिङ्ग प्रयाक्टिस गर्न चाहियो” भनेर माग्दा “हुन्छ” भनेर छोडिदिएँ । त्यसपछि मैले लेख्न छोडें । 

“तिम्रो ब्लग आर्टिकल्स के ग¥यौ त? कहाँ ट्रान्सफर ग¥यौ?” भनेर दाजुले सोध्नुभएको थियो । कहीं गरेकि थिईंन । मलाई लेख्न आउँदैन र मैले लेखेका कुनै पनि लेख अरुले पढ्न योग्य छैनन् भनेर म विश्वस्त भइसकेकी थिएँ । तर पनि आफूले गरेका सिर्जना आफ्ना छोराछोरी जस्तै हुन्छन् । कति माया लाग्छ, शब्दले भन्न सकिन्न । ती सबै मेटाउँदा मैले आफैंलाई मेटाएजस्तो भएको थियो । म लुकेर रोएकी थिएँ । तर यत्तिका वर्ष लेख्दा पनि मैले कहिल्यै आफूले लेखेका कुरा कति राम्रा या नराम्रा छन् भन्ने समीक्षा किन गरिंन भन्ने प्रश्नले पनि दुःखी थिएँ । म भन्न सक्दिन मलाई के कुराले बढी दुःख लाग्छ — आफूले लेखेका सबै कविता, कथा, लेखहरु मेटाएकोमा, तिनको समीक्षा कहिल्यै पनि नगरेकोमा या त्यसपछि लेख्नै नसकेकोमा...लेख्न बिर्सेकोमा या लेख्न चाहँदै नचाहेकोमा...। दाजुले, “हाम्रो बोलीबाट हँटाए पनि ब्लगरमा ट्रान्सफर गर्नुपथ्र्यो नि । त्यसरी सबै हँटाउँछन् त?” भन्नुभयो । “हो नि है? ला...” भन्ने त लाग्यो, माया लाग्छ नि आफूले लेखेका कुराको । दाजुलाई सोधुँ जस्तो पनि लाग्यो, “दाजु मैले लेखेको पढ्नुभएको छ? के तिनका पनि पाठक होलान्? के ती ब्लगमा राख्न योग्य थिए?” यदि कसैले पढ्न योग्य थिए भने पनि, यदि मेरा आर्टिकलका पाठक थिए भने पनि, अब म फेरी ती लेख्न सक्दिन, मेटाइसकेकालाई अनडु गर्न सक्दिन । तर मैले त इ–शब्द समेत रित्तो बनाइदिएकी थिएँ । मसँग न नेपालीका न अंग्रेजीका लेख बाँकी थिए । म फ्रस्टेटेड थिएँ, डिप्रेस्ड थिएँ, दुःखी थिएँ, दिक्क थिएँ, के थिएँ? किन एकैपटकमा मैले सबै लेख मेटाइदिएँ?

सबै कुरा बानी हो । लेख्ने, बोल्ने, पढ्ने, खेल्ने, हिंड्ने, नाच्ने...नलेख्ने, नबोल्ने, नपढ्ने, नखेल्ने, नहिंड्ने, ननाच्ने सबै बानी हो । हाँस्ने, रुने, नहाँस्ने, नरुने...सबै बानी हो । हामीले आफूलाई जे कुरामा ट्रेन गर्छौं त्यही सहज लाग्छ, प्राकृतिक लाग्छ, गरिरहन आउँछ र मन परे पनि नपरे पनि बानी बन्छ । स्कूल छउञ्जेल हरेक वर्ष कविता प्रतियोगितामा भाग लिनैपथ्र्यो । दाजुले “नआए पनि लेख” भन्नुहुन्थ्यो । लेख्न मन लाग्थ्यो । कक्षा १० मा हुँदा मैले कविता प्रतियोगितामा भाग लिईंन । हाउस क्याप्टेन दिपेश थापाले आएर “तिमीले किन कविता वाचन नगरेको?” भन्दै रिसाएको र “मन लागेन, गरिंन । तिमी आफैंले गर्नुपथ्र्यो नि!” भनेर ओठेजवाफ फर्काएको मलाई अझै सम्झना छ । त्यसदिन मलाई लागेको थियो, दाजु स्कूलमा छउञ्जेल मैले गरेकी रहेंछु, दाजुले स्कूल छोडेपछि म मनमौजि भएँछु भनेर । अनि हो, मैले कविता प्रतियोगितामा भाग लिनपथ्र्यो भनेर पनि लागेको थियो । त्यसैले मैले लेखिरहनुपर्छ भनेर मैले निरन्तर कविता, कथा, नाटक, र गन्थन लेखिरहें । लेख्न ठ्याप्पै छोडेको २०१४ पछि नै हो जब मैले आफ्ना ब्लगहरु खालि गरिदिएँ ।

आज फेरि म यति लेख्नसक्ने भएकि छु । समयले दिएको यो उपहारको निम्ति आभारी छु । अब अगाडि लेखनशैली सुधार गर्दै समयसापेक्ष विकास हुनेछु भन्ने आशा छ । हेर्दै जाऔं ।