मानव जीवनको अनमोलता र आत्म मूल्यांकन The Preciousness of Human Life — A Nepali Reflection on Self-Evaluation and Purpose
What does it mean to truly evaluate oneself? Not by the standards others impose, but by the quiet measure of how fully we have lived, loved, and been present in this one life we were given. This is a reflection on the irreplaceable gift of human existence - written from Janakpurdham, Nepal.
केही समय अघि हामीकहाँ जेन–जी (Gen-Z) आन्दोलन भयो । केही समर्थक केही विरोधी सामान्य कुरा हो । सामाजिक संजालमा धेरै पढ्नमा आएको थियो हालका पुस्ताहरुको दैनिकी, ज्ञान, शिक्षा आदिका विषयमा विविध नकारात्मक टिप्पणीहरु । टिप्पणीकर्ताहरु अघिल्ला पुस्ताका । मलाई अनौठो लागिरह्योः अध्ययन अध्यापन गराउने पुस्ता, हुर्काउने बढाउने पुस्ता, मार्ग देखाउने बाटो खनिदिने पुस्ताले आफैंले उत्पादन गरेको पुस्ताको बारेमा गरेका टिप्पणी भनेको आफूले आफैंलाई ऐनामा हेरेको त हो नि, हैन? यदि ती सबै टिप्पणी सही थिए भने पनि गलत को हो त? कमजोरी कसको? सुध्रिनुपर्ने कसले? आत्मलोचना गर्नुपर्ने विषयलाई मनोरञ्जनको हिसाबले प्रचारबाजी गरेर हामी के सावित गर्न चाहन्छौं? आफ्नो मूर्खता? या अन्धोपन? हामीले नयाँ पुस्तालाई दोष दिनु सजिलो छ, तर के हामीले आफ्ना गल्ती स्वीकार गरेका छौं? नेपालबाट हरेक वर्ष लाखौं युवा रोजगारीका लागि विदेशिन बाध्य छन् । यो केवल उनीहरूको कमजोरी होइन, हाम्रो असफलता पनि हो।
अब प्रश्न उठ्छ, हामी के गर्न सक्छौं? के हामी आफ्ना घरपरिवारमा नैतिक संवाद सुरु गर्न सक्छौं? यदि हामीले आत्मचिन्तन गरेर आफ्ना कमजोरी सुधार्न थाल्यौं भने मात्र समाजमा कोमलता र शान्ति फर्कन सक्छ।
आफ्नो सभ्यता, परम्परा, जीवनशैली; आफ्नो कर्म, कर्तव्य, दायित्व मनन गरेर तीप्रति श्रद्धा राखेर, वफादार भई आत्म मूल्यांकन गर्दै दोषारोपणको संस्कार नअपनाएर आफ्नो राष्ट्र, राष्ट्रिय गरिमा, राष्ट्रियतालाई मूलमा राखी यदि हामी साँच्चै हिंडेका भए न त हामीले रोजगारीका निम्ति युवा जनशक्ति विदेशिन बाध्य गराउनु पथ्र्यो, न राज्यको संचालनका निम्ति अनुदान र सहयोगको निल्र्लजता बाँच्न पथ्र्यो । वास्तवमा हामीले बहोसीमै पुस्तौं बिताइदिएका छौं । यो समय अबको पुस्तालाई हस्तान्तरण गरेर हामीले गैर जिम्मेवारीको हद पार गरेका छौं । हाम्रो देश निरिह अवस्थामा पुग्नुमा हाम्रा भाइ बहिनी, छोराछोरी, नातिनातिनीको भन्दा पनि हाम्रो गल्तीको परिणाम हो । हर एक व्यक्ति सुध्रिन जरुरी छ । म पनि ।
आलस्य, छिटै परिणाम चाहिने, स्वार्थवश जे पनि गर्न तयार, आफूलाई नहेर्ने अरुलाई मात्र देख्नसक्ने, भौतिकतावाद, दम्भ, लालच – म छैन भन्ने त धेरै भेटिएलान् तर साँच्चै नै नभएको मानिस एक हातका औंलामा गन्न सकिएला यदि कोही भए । हामी सबै दोषी छौं । हामीलाई अरुको मनपर्छ आफ्नो मन पर्दैन अनि आफू सही लाग्छ अरु सही लाग्दैन । यसै चक्करमा व्यक्ति आफू आफैंभित्र टुक्रिएको छ, घर टुक्रिएका छन्, परिवार टुक्रिएका छन्, समाज असहिष्णु छ, देश आत्मा विहीन भएका छन् – को भन्दा को ठूलो, शाहषी, पराक्रमी... जहाँ परिश्रम गर्नुपर्ने हो त्यहाँ सुख्खा छ बंजर छ हाम्रा खेत बारीहरुजस्तै, अनि जुन कुरामा रत्तिभर समय नखर्चिनुपर्ने हो त्यसमा सबैको एकमुष्ट समय लागेको छ । पदार्थवादमा हामी निर्लिप्त छौं । जति भए पनि नपुग्ने, कहिल्यै पनि तृप्त नहुने अनौठो वासनामा निमग्न छौं ।
पछिल्लो डेढ वर्ष आफूले आफूलाई, आफ्नो जीवनलाई, आफ्नो सत्यलाई नजिकबाट नियाल्न सिक्ने समय र¥यो । जो पाइयो, त्यसको लागि डेढवर्ष असाध्यै कम समय हो । तर ४० वर्ष कटिसकेको मानिसको लागि छिटो गरिदिनुपर्ने भएर हो कि ईश्वरको यति धेरै अनुकम्पा यति छोटो समयमा ।
मानव जीवन कति अमूल्य छ यो बुझ्ने बुझाउने शिक्षा हामीले कहिल्यै पाउँदैनौं । हिजोआज नैतिक शिक्षा त पढाईंदैन, नैतिक शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा के जिकिर गर्नु? विद्यालयहरुमा विहानी प्रार्थनामा सरस्वती वन्दना र अन्य केही मन्त्रहरु अनि केही योग प्राणायामका क्रियाहरु गराइन्छन् । यो राम्रो कुरा हो । तर के दिनभरी त्यो प्रार्थनासत्रमा बालबालिकालाई दिन खोजिएको ज्ञान, विवेक, भाव, अभिव्यक्तिमा शिक्षक शिक्षिका, विद्यालय प्रशासन, कर्मचारी सबै जसका हर एक क्रियाकलाप, बोलि व्यवहार, विचार अभिव्यक्तिबाट नानिबाबुको चरित्र निर्माण हुन्छ, वहाँहरु लयवद्ध रहनुहुन्छ त? के हाम्रा घर परिवार, त्यहाँ हुने कुराकानी सबै त्यति चेतनामा स्थित रहेर हुनेगर्छन् ?
म ऊँ श्री त्रिकुटा गुरुधाम नेपालकि साधक हुँ । सत्संग, साधनाका लागि मिलेसम्म नछुटाई गुरुधाम जाने गर्छु । संसारलाई दुःख भोग्न, पापको सजाय भोग्न आएको ठाउँका रुपमा बुझ्ने मैले गुरुकृपामा जीवनलाई हेर्ने दृष्टिकोंण बदल्न सकें । मानव भई जन्मनुको महत्व र उद्देश्य स्पष्ट हुँदा आफैंभित्र प्रकाशको अनुभव भएको यो समयमा आएर मैले बोध गरेको एउटा महत्वपूर्ण कुरा यो हो कि हामीले आफूले आफूलाई र केवल आफूलाई नियाल्न सक्यौं, आफ्ना गल्ती कमजोरीलाई स्वीकार गरेर तिनलाई हँटाउन सक्यौं, आफूले गरेका गलत कर्मको उत्तरदायित्व लिन सक्यौं र तिनलाई सुधार्ने दिशामा उन्मुख भयौं भने हामीभित्र स्वतः कोमलता आउने रहेछ । यो कोमलताले संसारलाई हेर्ने र महसुस गर्ने दृष्टिकोंण नै बदलिदिने रहेछ । दोषारोपणको बिमारी निको पार्नका लागि यो अत्यन्तै जरुरी छ ।नेपाल । मैले स्कूलमा पढ्दा २५०० वर्ष अगाडि कपिलवस्तु (नेपालमा) मा जन्मनुभएका सिद्धार्थ गौतमले बोधगया (भारत) मा ज्ञान प्राप्त गरी गौतम बुद्ध बन्नुभएको थियो । आजसम्म पनि हामी त्यही कपिलवस्तु लुम्बिनी नेपालको हो है भन्दै लडाईं नै गर्नुपरिरहेको छ तर गौतम बुद्धले दिनुभएको शिक्षा सायद स्कूलदेखि पढाईंदैन थियो, पढाईंदैन त्यसैले पो हो कि हामी मूल शिक्षामा त हारेका हारै छौं । हाम्रो लडाईं माटोको त भयो तर मूल मर्मको लागि हामीमा चेत नै भएन । शान्ति न कसैको मनमा छ, न कसैको घरमा छ, न कुनै परिवारमा छ, न कुनै समाजमा छ, न कुनै देशमा छ... सबै जीवन अस्तव्यस्त छन्, आशक्तिले आक्रान्त छन् । तर पनि गौतम बुद्ध जन्मिएको देश भनेर घमण्ड गर्न हामीलाई कसले रोक्न सक्ने? कसैले कोशिस पनि गरोस् त हामी हिंसामा उत्रिन तयार छौं । गौतम बुद्ध तब जन्मिए जब न नेपाल थियो न भारत । धर्तीको विभाजन भन्दा अगाडि जन्मिएका गौतम बुद्धको नाममा घमण्ड गर्नमा व्यस्त हामी आफूले यो सानो मुलुकलाई सत्यवादी, वफादार भएर स्वर्ग तुल्य बनाउन सकिन्छ भन्नेमा निश्चिन्त हुन सक्दैनौं । आफूले आफूलाई हेर्न सक्दैनौं । समय कहाँ छ? आ–आफ्नै बित्दो बिग्रिंदो छ । हात मुख जोड्नु छ, आङ्ग ढाक्नुछ । आफूलाई हेर्न समय चाहिन्छ । तर समय मूल्यवान छ । आफूलाई हेर्न थाल्दा अरु काम बित्छ, त्यो कसले गरिदिने?
अध्यात्म भनेको कोलाहलबाट शान्तितर्फको यात्रा हो । बाहिरबाट विरक्त हुन र भित्रतिर प्रवेश गर्न जति सक्यो उति नै सत्यको तत्वस्वरुपतर्फ मुखरित हुँदै गइन्छ भनेर बुझ्ने प्रयास गर्दैछु । तर, म, चुपचाप बस्ने मान्छेबाट बकबक गर्ने मान्छे बन्दै गएको पाउँछु आफूलाई हिजोआज । यसो भन्दैगर्दा मैले आफूलाई आफैंले हेर्न थाल्या छु । साक्षिभावमा बसेर हेर्दा म बोल्नुपर्ने विषयमा मौन रहने व्यक्तिबाट बोल्ने व्यक्ति बन्दै गएजस्तो पाउँछु । यसका विभिन्न कारण छन् । यदि प्रत्येक दिन रुटिनमा रहेर मन्त्रजप, बिहानी साँझको केही घण्टासम्म गरिने निरन्तरको योग, प्राणायाम र ध्यानलाई हेरेर साधनाको मापन गर्ने हो भने अध्यात्मको त्यस्तो गहिरो साधक म होइन । दैनिकका भागदौड र कर्म बन्धनका आवश्यक अनावश्यक, आम नजरमा घिसिपिटि, जीवनशैलीबाट बाहिर निस्कन नसकेको एक सामान्य जीवनमार्गीमै म सिमित छु । तर त्यसै कुरालाई हेर्ने मेरो नजरिया बद्लेको छ, यही जीवनप्रतिको मेरो भाव बद्लेको छ, मेरा वरिपरिका मानिसहरुप्रतिको, उनीहरुले बोलेका, गरेका वाणी, व्यवहारप्रतिको मेरो दृष्टिकोंण बद्लेको छ र जुन प्रकारले बद्लेको छ, त्यसलाई हेर्दा मलाई आफू उमेरसँगै बढेको भन्दा पनि आफूभित्रको भाव बद्लेको बढी महसुस हुन्छ । चालिस वर्षसम्म मैले जीवनप्रति, संसारप्रति राखेको दृष्टिकोंण जसरी विल्कुल फरक भएको छ यो केवल उमेरले ल्याएको परिवर्तन होइन भन्ने कुरामा म निश्चित छु । र मेरा लागि अध्यात्म यही हो । यही परिवर्तन । म आज यस स्थानमा छु जहाँ मलाई मैले गरेका कर्मको असर के हुन्छ र मैले किन कुन कर्म गर्नुपर्छ भन्ने समझ हरपल रहन्छ । मबाट गल्ती हुनसक्छन्, मेरा अनेक कमजोरी छन्, म स्वीकार्न तयार छु र सुध्रिन तयार छु । म हिजोभन्दा आज सुध्रिएकी छु र आफूलाई निरन्तर सुधारेर निश्काम कर्मको साधक बन्न प्रेरित छु । मलाई थाहा छ मेरो यो प्रयासले क्रमसः आफूले भोगिरहेको भागदौड र ठेलमठेलको जीवनशैलीप्रतिको हेराई बदल्न र व्यवस्थापन गर्न सम्भव बनाउनेछ ।
आफूलाई हेर्न तिर लाग्नुहोला । मानव जीवन अनमोल छ । ८४ लाख जुनी पार गरेर पाएको मानव जीवन यदि खेर गयो भने यहाँ कमाएको पदार्थ सबै व्यर्थ हुन्छ । भोलि लामखुट्टे भएर जन्म लिनुप¥यो भने कसले प्याट्ट पारेर मारिदिन्छ अनि फेरि के बनेर जन्मिने हो के थाहा?

.png)