२०८२ भाद्र २४ बुधबारः एउटा इतिहास रचिंदैगर्दा — A Witness Account from Nepal on a Day History Was Being Made

There are days you know, even as you live them, that something is shifting. 2082 Bhadra 24 Wednesday was one of those days in Nepal. This is not a news report. It is a personal witness, written from where I stood, on a day history was being written around me.

आज देशमा कसैले नसोचेको आन्दोलन भयो । कसैले कल्पना नगरेको, कल्पना गर्ने हिम्मत नगरेको ।
राष्ट्रिय सम्पतिको क्षति भयो । कागजपत्र नष्ट भए । मानवीय क्षति भयो । भन्नेहरु भन्दै हुनुहुन्छ यस भौतिक क्षतिको भार हामीले नै व्यहोर्नुपर्छ । पर्ला । परोस् । पर्नैप¥यो । आफ्नो देशको सम्पतिको भार आफैंलाई पर्न प¥यो । यत्तिका वर्षसम्म लुटिएर त्यस बापत केही उपलब्धी नपाएर कति क्षति भयो त्यसको लेखाजोखा गर्न नसकेको हाम्रो र हामीभन्दा अगाडिको पुस्ताले खुशी हुनुपर्ने समय हो । स–साना छोराछोरीहरुमाथि जुन निर्ममता राज्य सत्ता सम्हाल्ने भनिएका कपुतहरु र हातमा बन्दुक पाएका मासिक तलबभन्दा बाहिर सोच्न नसकेका लाचारहरुले गरे त्यसको बदलामा र करिबन एक शताब्दी देखि यस देशमा भइरहेको अनागरिक अमानवीय जुन व्यवस्था छ (जतिसुकै नाम बदले पनि काम त बद्लिएन) त्यसको बदलामा यति हुनु मिनिमम हो । हुन अझै बाँकी छ ।

तपाईं मलाई अपराधी मानसिकताको सम्झे सम्झनुस् तर जसलाई आजसम्म भोट दिएर सत्तामा पु¥याउनुभयो ती सबै एक एक घरबाट निकालिएर सडकमा गिडिंन योग्य भइसकेका छन् । ती जीव होइनन् । जीव हत्याको दोष पनि नलाग्नु पर्ने । ती तुच्छ वस्तुहरु यो ब्रह्माण्डभन्दा बाहिर पुग्नुपर्ने । तर कुरा यहीं सिमित छैन । नेतालाई नचाउने व्यापारी वर्ग पनि कमको छैन । कमीसनखोर, भ्रष्टाचारी कर्मचारी तन्त्र पनि कमको छैन । पार्टीका झोले पत्रकार र मै हुँ भन्दै चुरीफुरी देखाउने विद्यार्थी नेता अनि, लोकल लेभलका तानाशाहहरु दूधका धुला छैनन् भन्ने बिर्सन मिल्दैन । 

तपाईंलाई के लाग्छ? यो आवेग म मा मात्रै होला? यो मेरो अपराधी मानसिकता होला? यो फ्रस्टेसन हो । २०४५/४६ को आन्दोलन ताका म ५-६ वर्षको बालक थिएँ । मलाई सम्झना छ हामीलाई स्कूलबाट ~यालीमा लगिन्थ्यो । पार्टीको झण्डा बोकेको आन्दोलनमा म ६ वर्षको बालकको के विचार, के भाव, के समझ? किन लगिन्थ्यो? त्यसबेलाको आन्दोलनमा जित्यौं भन्दै आएका नै होइनन्, त्यसबेलादेखि यसबेलासम्म अनुहार फेर्दै फेरि फेरि आइरहेका सत्ता सम्हाल्न? उनीहरुले रेडियो बाहेक केही पनि एक्सेस नभएका त्यसबेलाका जनतालाई लिएर आन्दोलन गरेका थिए । अनि जेन जि लाई पनि उनीहरुले त्यही सम्झिए । कस्तो भूल । कस्तो जडता । कस्तो अभद्रता । समय कहाँबाट कहाँ पुगिसक्यो, टेक्नोलोजी र संचारले संसारलाई कति अगाडि पु¥याइसक्यो, तर यी ४५÷४६ का संरचनाहरुले आजको युवालाई हामीसँग तुलना गरेर पो हेरिरहेका रहेछन् । कस्तो मूर्खता ।

म त्यो व्यक्ति हुँ जो परिवारका सबैजना विदेशिन थाल्दा, साथीभाइ सबै विदेशतिर लाग्दा पनि होइन म नेपाल मै केही गर्छु यो देशलाई युवाको खाँचो छ हामी विदेश पलायन हुनु हुँदैन भनेर विदेशिन मानिंन । म त्यो मानिस हुँ जसलाई नेपाली हुनुमा गौरव गर्ने दिन अवश्य आउने छ सधैं यस्तै रहनेछैन भन्दै आफूले आफैंलाई सान्त्वना दिंदै रहें । तर म त्यो व्यक्ति हुँ जसले आजसम्म भोट हालेको छैन किनकि यो देशमा मैले नेता नै देखिंन जसले सत्ता सम्हाल्न सकोस् । नेता शब्दको अर्थ हुन्छ नेतृत्व गर्न सक्ने व्यक्ति । तर देश एकजना नेताले चल्दैन । एक व्यक्तिले देशको बागडोर सम्हाल्ने होइन । उसलाई टिम चाहिन्छ । टिममा एउटा व्यक्ति मात्र पनि गलत छ भने र त्यस सडेको आलुको पूर्ण रुपेण नाश गरिएन भने त्यही काफी छ बर्बाद गर्न । हाम्रो सिस्टम करप्ट छ भन्ने अर्को टर्मिनोलोजिलाई पनि हामीले हेक्का राख्नुपर्छ । करप्ट सिस्टमले अब एकपटकलाई सुध्रिने मौका पाउन पनि सक्ला तर यदि सुध्रिएन भने यो आन्दोलन त सकिएको छैन । हामीलाई देशहीन बन्नु छैन । हामीलाई शरणार्थी बन्नु छैन । 

यो देश अध्यात्मको केन्द्र हो । यहींबाट सम्पूर्ण विश्वमा शान्तिको विगुल फुक्नु छ । यहींबाट संसारलाई अध्यात्ममा जोड्नु छ । यहींबाट ज्ञानको गंगाले विश्व सिंचित गर्नु छ । यो देशको शान, मान र अभिमान यही हो । यसलाई जिवन्त र चिरस्थायी बनाउनु छ । हामीलाई लामो गहिरो स्वास तान्दा स्वतन्त्रताको गन्ध सुँघ्नु छ । तिमी नालायकले राज्यको बागडोर सम्हाल्न पायौ भन्दैमा तिमी हामीलाई शरणार्थी बन्ने सम्म पु¥याउने? अनि पनि यो आन्दोलनमा भएका आगजनी र तोडफोड गलत थियो भन्ने? तिमीले राष्ट्रको ढुकुटी विदेशमा व्यक्तिगत सम्पतिको रुपमा थुपार्नु जायज यो तोडफोड नाजायज? देशमा रोजगारीको अवसर छैन, केही गर्न खोज्ने युवालाई वातावरण छैन, नेपालीले विदेशमा दुःख गरेर कमाएको रेमिटेन्स देशको सबैभन्दा ठूलो आयश्रोत भएको छ, यो भन्दा लज्जाको विषय अरु के होला? तर पनि सुधारको मानसिकता त छैन । लज्जाबोध भए पो हुन्छ । भिउ टावरको उद्घाटन गर्न जाने प्रधानमन्त्री...लज्जा कहाँ हुन्छ? लज्जा त हामी जनसाधारणलाई हुन्छ यति तुच्छ व्यक्तिहरुले शासन गरिरहँदा पनि चुपचाप आफ्नो दैनिकी मै व्यस्त छु भन्न मा ।

निरंकुशता, क्रुरता भनेको सबैले देख्नेगरी मान्छेको हत्या गर्नुमात्रै होइन । सर्वसाधारणलाई सामान्य जीवन बाँच्न नसक्ने वातावरण बनाइदिनु, महंगीले आकाश छुँदा तिमीले भिउटावरमा खर्च गर्नु, राज्यका आवश्यकता एडे«स नगर्नु, सबै निरंकुशता र क्रुरता नै हो । जुरुक्क कर्णाली हेर्न तिमी सबै गएका होइनौ? मजा आएको थिएन त्यो हेरेर? उठ्यो त, देश नै उठ्यो । यसमा के नमज्जा आयो? जुरुक्क उठ्ने भनेको यस्तै हो । त्यो शब्द र संगीतले मात्रै उठ्दैन । तिम्रा अरौटे, भरौटे, झोले, चम्चे, तिम्रो नुनको सोझो गर्ने, तिमीलाई औंलामा नचाउने व्यापारी, कमीसनतन्त्र, भ्रष्टाचारमा मदमस्त (जो जोसँग सम्बन्धित छ) देशद्रोही कर्मचारी र तिम्रा सन्तान – तिनका बारेमा त भन्न सकिएन तर बाँकी आजको युवा सत्यमार्गी युवा हो । यिनलाई नाटक चाहिएको छैन । यिनी ललिपपमा भुल्दैनन् । यिनलाई डिग्निफाइड लाइफ चाहिएको छ त्यो पनि आफ्नो बलबुतामा । न आमाबुबाको विर्ता लिएर न तिम्रो र तिम्रा दलालको आशिर्वाद लिएर । उठ्यो । यदि तिमीलाई अझै पनि चेतना भएन भने भोलि अझै वृहत भएर उठ्ने छ । अब आफ्ना कुम्लो कुटुरो बोकेर कुलेलम ठोके हुन्छ । तिमीलाई त मरे नि फेरि पाल्ने छैन देशले ।

यत्ति रीस, यत्ति आवेग, यति घृणा छ मनभरी कि निकालेर नै सकिंदैन । जनयुद्धका नाममा नरसंहार गरेर, एक पुस्तालाई नै शिक्षाबाट विमुख गरेर, सक्नेजति जनधन क्षति गरेर सत्तासम्म पुगेकाहरुले आफ्नो नाम आएन भनेर खुशी नभए हुन्छ । यो लेखमा त के नै दम छ र तिम्रो नाम नआउनु र अरुको आउनु ले फरक पर्नलाई? जो हृदयभित्र दन्केको आगो छ त्यसको एक लप्का नै काफी छ तिमीजस्ता हजारौंको दहन गर्न । तर मृत्युदण्ड पनि कम हुन्छ तिमीहरुलाई । मृत्युले त यो शरीरबाट मुक्ति दिइहाल्यो नि । कर्मदोष त तिमीले बोकेरै जानु छ । प्रायश्चितले पनि धुन नसक्ने कर्मदोष तिमी बोकेर जानेवाला छौ । तिमीलाई यत्ति भोग्नुपरोस् कि कहिल्यै कसैले परेन होला तर तिम्रो त्यो दुःखमा कसैको आँखाबाट आसु नखसोस् सबैलाई चेत होस् कि तिमी त्यही लायक हौ । मोक्षको लागि भड्केको भड्कै, कर्मदोष व्यहोरेको व्यहोरै तिमी कालपाश मा परिरहू । तिम्रालागि यति नै चाहन सकियो ।

जय देश ।

भोलिको दिन उज्यालो हुनेछ भन्ने आशा पलाउँदा मन कति खुशी छ त्यसको सीमा छैन । यस आन्दोलनमा सहिद भएका हाम्रा छोराछोरीहरुप्रति नमन । शोक यो देशको हो, उनीहरुलाई जन्म दिने बुबाआमाहरु, परिवारजन र उनका जे जति साथीभाइ हुनुहुन्छ सबैले हामी र हामीभन्दा अगाडिको पुस्ता (तर क्लिनली सर्वसाधारण) लाई अहिलेलाई क्षमा गरिदिनुहोला, आगामि दिनमा खबरदारी गर्नुहोला । यी छोराछोरी परिवर्तनका संवाहक हुन् । अब देशले कोल्टे फेर्न सकोस् । हामी सबैमा शुभकामना ।