Some teachers stay with you for a lifetime, not because they taught you the most lessons, but because they gave you something more rare: dignity. This is the story of Sumitra Miss, my Grade 4 English teacher at SOS Herman Miner School in Itahari, Nepal, and the one moment in 1993 that quietly shaped who I became.
म कक्षा चारमा त्यहाँ भर्ना भएकी थिएँ । सरकारी विद्यालयबाट अंग्रेजी माध्यमको विद्यालयमा पुग्नु पढाइका भारका हिसाबले धेरै ठूलो फड्को मार्नु थियो, म कक्षा ६ मा पुगेकी मान्छे । हामीले सरकारी विद्यालयमा कक्षा चारमा पुगेर मात्रै ए बि सि डि सिक्थ्यौं भन्ने कुरा उनीहरुका लागि दन्त्ये कथा जस्तै हो । तर हामीले व्यहोरेको यथार्थ त्यही हो । आजभन्दा बत्तिस वर्ष अगाडिको कुरा हो ।म शैक्षिक सत्र सुरुभएको करिव एक महिना पछि भर्ना भएकी हुनाले नयाँ विद्यार्थी थिएँ । मेरो लागि त्यो विद्यालयको पहिलो दिन जुन शिक्षक आए पनि तिम्रो नाम के हो? भनेर प्रश्न गर्नुहुन्थ्यो । मेरो नाम गमला । यो नाम मेरो लागि अनौठो थिएन । मैले जानेदेखि सुनेको, मेरा वरिपरिका सबैले सामान्य रुपमा उच्चारण गरेको, कहिल्यै कसैले प्रश्न नउठाएको । हर कसैको जस्तै मेरो पनि नाम थियो । तर, यहाँ मेरो नाम स्वयंमा चर्चाको विषय भयो । विज्ञानको शिक्षक आउनुभयो र नाम सोध्नुभयो । मैले नाम भनेपछि वहाँ हाँस्नुभयो र सँगसँगै कक्षाका साथीहरु पनि हाँसे । मलाई नमज्जा लाग्यो तर म नयाँ थिएँ, बोल्न सकिंन । त्यही दिनदेखि मेरो बोल्ती बन्द भयो । अहिले सम्झँदा म त्यस दश वर्षे बालकको मनस्थितिलाई बुझ्न सक्छु । म अहिलेजस्तै थिएँ त्यसबेला पनि । इख थिएन । कसैले केही भनिदिंदा जवाफ दिने शब्द निस्कँदैन थियो । अहिले म आफैंमा यति बलियो भएकी छु कि अरुका कुराले मलाई फरक पर्दैन, छुँदै छुँदैन । त्यसबेला कक्षाका नयाँ साथी र शिक्षक एकैसाथ मेरो नाम माथि हाँस्नुले मेरो बालक मनस्थितिलाई आघात पा¥यो । मैले त्यहाँ साथी देखिंन सबै अन्जान अपरिचित मानिसहरु मात्र देखें । मनैमन सायद मैले सबैसँग दूरी बनाएँ ।
चौथो कक्षा पछि टिफिन ब्रेक भयो । पाँचौं घण्टीको कक्षामा सुमित्रा मिस आउनुभयो । फेरि उही प्रश्नः “तिम्रो नाम के हो?” म उठेर बोल्न नपाउँदै एक साथीले उछिनेर भन्यो, “उसको नाम गमला हो मिस ।” अनि सबैजना गलल्ल हाँसे । म मौन निहुरिएँ । सुमित्रा मिसले कक्षालाई शान्त बन्न भन्नुभयो, मेरो नजिक आउनुभयो र भन्नुभयो, “तिम्रो नाम धेरै राम्रो छ । गौरवसाथ आफ्नो नाम लिने गर । शिर ठाडो पारेर । कसैसँग डराउनु पर्दैन ।” १० वर्षको उमेरमा पाएको यो ढाडस म कहिल्यै बिर्सन्न । एसओएस हर्मन माइनर स्कूल ईटहरी सन् १९९३ सायद मे महिना थियो होला, मेरो आँखामा सुमित्रा मिसका कुहिरा आँखा, टिनिक्क बाँटेको एक चुल्ठो मोटो कपाल, अगाडिबाट पछाडितिर लगेर फेरी कम्मरको भागमा अगाडि ल्याएर बाँधिएको कुर्था सुरुवालको सल, सुन्दर हँसिलो चहकिलो अनुहार... अमीट छाप बनेर बस्यो । वहाँले त्यही एक वर्ष मात्र पढाउनुभयो । हामी कक्षा पाँचमा पुग्दा वहाँले हाम्रो स्कूल छोड्नु भएछ । तर म त्यो अनुहार त्यो आवाज अझै उसैगरी सम्झन्छु ।
मलाई पढाइमा विश्वाससाथ अगाडि बढ्न करिव दुई वर्ष लाग्यो । त्यसपछि मात्र मैले गति समात्न सकें । बालबालिकाको आत्मविश्वास जगाउने कि घटाउने भन्ने कुरामा शिक्षक शिक्षिकाको सबैभन्दा ठूलो भूमिका हुँदोरहेछ । यस अर्थमा म आफूलाई प्रिभिलेज्ड सम्झन्छु । मैले शिक्षक शिक्षिकाबाट सधैं प्रेरणा पाइरहें । कहिल्यै हिनताबोध गर्नु परेन । तर त्यो मेरो व्यक्तिगत अनुभव मात्रै थियो । केही समय अघि साथीहरुले स्कूलमा आफूमाथि भएका व्यवहारहरुबारे छलफल गर्दा मैले कहिल्यै सम्भव नसोचेका शब्दहरुको प्रहार उनीहरुले सहनुपरेको, उनीहरुलाई निरुत्साह गर्ने अनेकन् घटनाहरु भएको थाहा पाएँ । मसँगै पढेका, हुर्किएका, बढेका साथीहरु पनि के सँग जुधिरहेका छन् भन्ने ज्ञान बीना नै मैले वर्षौं बिताएँछु भन्ने थाहा पाउँदा मलाई असाध्यै नराम्रो लाग्यो ।
.png)
.png)
.png)