कृपाका छहरा ती स्नेहिल हातले छुँदा
मभित्र जो संचार भो ब्रह्मनादको झंकार भो
छोरी, यो तिम्रो घर होइन, तिमी यहाँको वासी होइन
अनन्त महासागर छ, अभेद्य महाआकाश छ
स्वर्गका देवगणले पनि जो पाउन नसक्ने छ
पुजित भगवानहरुको जहाँ पुग्ने एक लक्ष्य छ
त्यो घर युगौंदेखि तिम्रो प्रतिक्षामा शून्य छ
पुनः तिमी आऊ भन्ने एउटै परम सन्देश छ ।
बाबा, भड्किएरै कति जीवन मैले बिताइदिएँ
राग, आसक्तिको पुतला लथालिंग बनी जिएँ
भोग्नुपरोस् मेरा कुकर्मका दोषहरु मैले
सुकर्मका दोष सबै मेटाइदिनुस् हजुरले
अब अघि नगरुँ म स्वार्थसहित कुनै कर्म
प्रतिक्रिया रहित बनुँ रत्ति पनि नभरुँ चित्त
हजुरको उद्देश्यलाई बनाएर एउटै लक्ष्य
चल्न सकुँ सत्मार्गमा त्यागुँ मन-बुद्धिका गीत ।
करुणाको यो धारामा स्नान गर्दै पखालिंदै
उथल पुथल आँधिबेहरी सबैमा स्थिर रहँदै
निरन्तर म अघि बढुँ आफ्नो घरसम्म पुग्न
वात्सल्यको त्यो भूमिमा, करुणाको मन्दिरमा
जहाँ चिदाआनन्दको अमृत छ, ब्रह्मरसको मूल छ
जहाँ मेरो बाबाको काख, त्यहीं परमप्रकाश छ ।
Read Previous: त्रिकुटेश्वरानन्द आनन्द रुप Read Next: सायद परम नजरमा म यस्तो छु कि?
.png)