आमा हुँदा साथमा — When Mother Is Near | A Nepali Poem About Growing Up and Letting Go

When your mother is near, you feel like a king. When she is gone — even briefly — the sky seems to fall. This poem captures one of the most universal and tender truths of childhood: the way a mother's presence makes the whole world feel safe and yours. 


आमा हुँदा साथमा आफू राजै भएँ जस्तो लाग्छ

हैकम चल्ने शाषन चल्ने ठालु मै हुँ जस्तो लाग्छ

आँखा पल्टाउँछिन् रिसले क्षणमै प्रेमले अंगाल्दछिन्

डर देखाएँ कि धेरै भनी आफैं डराउँदछिन्

उनी वरिपरि हुँदा अहम् आफ्नो बेग्लै छ

ओझेल पर्छिन् पृथिवी नै भासिएछ जस्तो लाग्छ

आमा थोरै टाढा हुँदा आकाश खसे जस्तो लाग्छ

निद्रा आउँछ सुत्छु तर खै म कस्तो निदाउँछु

आमा टाढा गएको दिन रात नआओस् जस्तो लाग्छ

हन्हन्ती ज्वरो आउँछ मलाई आमा याद आउँछ

दिन गन्ती जति गरुँ पल कटेन जस्तो लाग्छ

तिमी हुँदा आमा, संसार सबै आफ्नै हुने

तिमी ओझेल पर्दा जीवन केवल छाँया जस्तो लाग्छ


तिमी भन्छेउ, भोलिपर्सी म नि ठूली हुन्छु अरे

तिमीजस्तै काम गर्न टाढा टाढा पुग्छु अरे

कर्तव्यको बोझ बढ्दा अरु सबै पछि छोडी

आफ्नो जीवनयात्रामा नै तिमीजस्तै अल्झन्छु रे

तिमीले भनेपछि साँचै होला जीवन तेस्तै

तर तिमीले आमा सम्झेजस्तै मैले तिमीलाई पुकारुँला

तिम्रो ममताले फेरी मलाई बाँध्न आउँछ्यौ होला

आमा, तिमी साथमा हुँदा राजा भएँ जस्तो लाग्छ

तिमीले राजा भनी बोलाउँदा मन त्यसै रमाउँछ

तिमी टाढा नजाऊ आमा मेरो मन डराउँछ

बाँकी सबै साथ भए नि, कोही नभए जस्तो लाग्छ

तिमी मेरो म तिम्रो सबैभन्दा आफ्नो मान्छे

तिमी मेरो म तिम्रो सबैभन्दा प्यारो मान्छे

उमेर बढ्दा परिस्थितिले मलाई तिमीबाट टाढा लग्छ भने

समय नै ठप्प भैदिओस्

आमा, म सँधै बालक रहुँ, तिमी सधैं जवान रहू

तिम्रो स्नेहमा जीवन फूलैफूल जस्तो लाग्छ

Read Next:  छोरीलाई सम्वोधन