कति छिटो बढ्छन् छोराछोरीहरु... — How Fast They Grow: A Mother's Reflection on Her Daughter Becoming Herself


नौ वर्ष पूरा भएर दसमा हिंड्दैछिन् । मैले अस्पतालको शैयामा एसो आँखा झकाउन खोज्दा च्यार्र गरेर मलाई ब्युँझाउने त्यो शिशु आवाज अझ बिर्सेकै छैन, उनी भने यत्ति ठूली भइसकिन् कि आज मम्मा म जुम मिटिङ्गमा हजुरसँग कुरा गर्छु, जुम मिटिङ्ग सेड्युल गर्छु है त? अरे । 

केही दिन अघि बाहिरबाट थाकेर घर आइपुग्नुभएको ममीलाई मीठो चिया बनाएर ख्वाइन् रे । नातिनीले पहिलोपटक बनाएर दिएको, आफू थाकेर लखतरान भएको समेत मिसाउँदा त्यसको मिठास चुलिएको पक्कै होला, तर चार कक्षामा पढ्दै गर्दा उनले आफैं कपाल कोरेको कुराले भने मलाई साँच्चै मख्ख पारेको छ । 

मलाई सम्झना छ, चार कक्षामा पढ्दा म आफैं कपाल बाट्दिन थिएँ । त्यसबेला मेरो कपाल राम्रो पनि थिएन । कैलो, अनि बाटेपछि खोल्दा त झन् हेरिनसक्नै हुन्थ्यो । बिहानै हाम्रो लागि खाना बनाएर, ख्वाएर, खाजा बनाएर, मेरो कपाल कोरेर तयार गरिदिनुपथ्र्यो ममीले । निकै ठूली हुँदासम्म मैले आफ्नो कपाल आफैं बाटिंन । बरु ममीले मेरो कपाल काटिदिनु चाहिं भयो । बोइज कट भन्थ्यौं हामी त्यस्तो कपाललाई । स्कूलका धेरै वर्ष मेरो टाउको बोइज कट बोकेरै हिंड्यो । कतिसम्म भने, क्याम्पस पढ्दा एकदिन अनुले मलाई यो काईंयोको मोटो दाँतले कोर्दा कपाल अल्झिंदैन, मसिनो दाँतले कोर्दा कपाल अल्झिन्छ भनेर बुझाउँदा मेरो लागि त्यो ठूलो ज्ञान भएको थियो । त्यतिञ्जेलसम्म मैले काईंयोमा मोटो र मसिनो गरी दुईथरी दाँत हुन्छन् भन्ने थाहै पाएकि थिईंन । अनुका कपाल लामा थिए, बाक्ला थिए । र सायद उनले मैले जसरी स्कूले जीवनभरी कपाल ठुट्याएकि पनि थिइनन् । र क्याम्पस पुग्दासम्म मेरो कपाल सल्सलाउँदो हुनुको पछाडिको रहस्य पनि यही थियो । जति काटियो उति सप्रिएर आउँदोरहेछ कपाल । ईराको कपाल पटक्कै थिएन । डेढ वर्षको उमेरमा मुण्डन गर्दासम्म उनको कपाल अलिअलि मात्रै थियो । मैले त तीन चार पटक यसरी नै खुइल्याउनु पर्ला सोचेकि थिएँ तर मुण्डनपछि आएको कपालले त्यसो गरिरहन नपर्ने संकेत ग¥यो । हुन त बेलाबेलामा हामी उनको कपाल छोटो गराइदिन्छौं तर राम्रो छ अनि उनी आफैं अब सम्हाल्न पनि थालिसकिन् त्यसैले मैले जसरी नै कपाल काट्नु जरुरी छैन । मलाई पनि उनको लामो कपाल मनपर्छ ।

एकदिन उनले मेरो कपाल काटिदिइन् । मेरो जन्मदिनको ठीक एकदिन अगाडि । मेरो कपाल काट्ने कुनै विचार थिएन । तर उनलाई विचार आएपछि मैले हुन्छ भनें । पहिले थोरै भनिन् तर केटाकेटीको हातले थोरै थोरै गर्दा गर्दै एता मिलाउने र उता मिलाउने भन्दै गर्धनसम्म पु¥याइहाल्यो ।

मैले पनि पहिलोपटक ममीकै कपाल काटेकि थिएँ । हाम्रो कपाल सधैं ममीले नै काटिदिनुभएको । तर आफूलाई भने पटक्कै नआउने रहेछ । सीप भनेको देखेर मात्रै सिकिन्न, गरेर मात्रै सिकिन्छ । ममीले टुप्पो टुप्पो काट भन्नुभयो । मैले दाँया र बाँयाको टुप्पोलाई बराबर गर्ने भन्दै काटेर झण्डै गर्धनसम्म पु¥याइदिएँ र पनि सीधा भएन । अन्ततः ममीले आफैं काट्नुभयो । कत्रो उत्साहले मैले ममीको कपाल काटेकी थिएँ त्यसदिन । यो स्नातक तह पढ्दाको कुरा हो । इराको भन्दा दोब्बर भन्दा बढी उमेर छँदाको कुरा । उनले अहिले क्राफ्ट गर्छु भन्दै काटेका अनेक चिजले उनलाई कैंची चलाउने अनुभव दिन्छन् सायद त्यसैले उनलाई कपाल काट्नु पनि त्यस्तै लाग्छ । हामीले गर्ने काममा हामीले आफूमाथि गर्ने विश्वासले ठूलो भूमिका खेल्छ । अभिभावकले हामीमाथि गर्ने विश्वासले पनि उस्तै महत्वपूर्ण भूमिका खेल्छ । जसलाई हामी सम्मानपूर्वक हेर्छौं, प्रेमका साथ हेर्छौं, स्नेहभावले हेर्छौं वहाँहरु सबैले हामीप्रति देखाउने भरोषाले पनि जिम्मेवार भूमिका खेल्छ । केही गर्न खोज्दा मायाले नै सही, डरले नै सही, ए नगर लड्छौ, नगर बिग्रन्छ, नगर सक्दैनौ भन्ने आवाजले भन्दा, गर तिमी लड्दैनौ र यदि लड्यौ भने पनि अवश्य उठ्ने छौ म तिमीसँगै छु, बिग्रदैन तर बिग्रियो भने बिग्रिंदै गर्छ तर गर्न नछोड म तिमीलाई साथ दिनेछु, तिमीले जे पनि गर्न सक्छौ म तिम्रो साथ छु भनिदिने अभिभावक भए बालबालिकाको आत्मविश्वास नै अलग हुँदोरहेछ । त्यसो त यो बालबालिकामा मात्र नभई सबैमा लागु हुन्छ तर ठूलो भइसक्दा जीवनका विभिन्न आरोह अवरोहले गर्दा हामी त्यो आलोकाँचो माटो जस्तो रहँदैनौं । कति कुराले त मतलव नै राख्न छोडिसक्छन् । कति परिस्थितिमा संवेदनहीन भइसक्छौं । आफूले देखेको संसारको हिसाबले हाम्रा सबै कुराहरु बद्लिसक्छन् । 

आज कतै पढें तिमी जो बनेको छौ, बन्दै गइरहेको छौ हिजोभन्दा विल्कुल फरक र कहिलेकाहीं तिमीलाई यो पनि लाग्न सक्छ कि म म नै होइन, म जो थिएँ त्यो रहिंन । तर तिम्रा प्रत्येक कदम तिमीलाई ईश्वरको नजिक लैजाँदैछन् । तिमी विस्तारै त्यो बन्दैछौ जो ईश्वरले तिमीलाई बनाउन चाहनुभएको थियो । त्यसैले दुःखी नहोऊ, खुशी होऊ । आफूप्रति खुशी होऊ । आफूलाई प्रेम गर । आफूप्रति गौरव गर । र साँच्चै हो, म हिजोजस्तो छु या छुईंन मलाई थाहा छैन । मैले आफू हिजो कस्तो थिएँ भनेर सोचेर नष्ट गर्ने समय म आज जस्तो छु, जो छु त्यसमा खुशी हुनमा र त्यसप्रति धन्य हुनमा खर्च गर्दा आफू ईश्वरको झन् नजिक पुगेको महसुस गर्छु । १० वर्षे छोरीकि आमा हुँ म । मलाई दुःखी हुने, गनगन गर्ने छुट छैन । उनका जीवनका धेरै अन्वेषणहरु छन् नयाँ नयाँ कुरा दिनहुँ सिकेर कहिले घरमा आमालाई सुनाउँ भनेर उत्साहित हुन्छिन् । उनको यो उमेरमा म एकपटक फेरि बालापन जिउन पाएकि छु । कहिले उनी मलाई कथा सुनाउँछिन् कहिले मलाई कथा सुनाउन भन्छिन् । तपाईंलाई के सुनाउँ, कहिलेकाहीं म थाकेर बोल्दा बोल्दै निद्रामा पुग्छु र मैले सुनाउँदै गरेको कथा अर्थोकै बन्छ । उनी भोलिपल्ट त्यो मैलाई सुनाउँदै पेट मिचिमिचि हाँस्छिन् । हाँसो पनि अमूल्य यस उमेरको । जीवन जिउँदै जाँदा कुनबेला हाँस्नै समेत बिर्सिइन्छ थाहै नहुँदोरहेछ । वर्षौंसम्म हाँसो हराएको थाहै नपाएर बाँचिंदोरहेछ । सबै बनावटी नै सत्यजस्तो गरेर एउटा महायुगजस्तो लाग्ने जीवन काटिंदोरहेछ । तर ती सबै भ्रम । ती सबै ईश्वरसम्म हामीलाई पु¥याउने छद्मभेषी परिस्थितिहरु... तिनलाई चिन्ने आँखा खुल्न पनि सही समय आउनुपर्छ । ईश्वर त हात फैलाएर बस्नुभएको छ जब पनि आउँछ म आफैंमा समाहित गर्छु भनेर... । कहिले बुवाआमाको रुपमा, कहिले दाजुभाइ दिदीबहिनीको रुपमा, कहिले छोराछोरीको रुपमा, कहिले आफन्त इष्टमित्रको रुपमा, कहिले अपरिचित सहयोगीको रुपमा, कहिले परिचित विपक्षीको रुपमा, कहिले सहज बनेर, कहिले भयानक बनेर कहिले स्नेहमा चुर्लुम्मै डुबाएर, कहिले चुनौतिको भूलभुलैयामा फँसाएर आफूतिर तानिरहने, आफ्नो नजिक सारिरहने... अनौठो लिला गर्दै हामीलाई विस्तारै हामी बनाउने ईश्वर... । धन्य म छोरीकि आमा हुँ । कहिलेकाहीं उनी आमा हुन् कि म हुँ थाहा हुँदैन ।

मम्मा, आज हजुर ईरा म मम्मा है त? भनिसक्ने बित्तिकै उनी आफ्नो भूमिकामा आइसक्छिन् । मलाई धेरैबेर ईरा बन्न सजिलो छैन । अफ्ठ्यारो हुन थालेपछि म उनले गनगन या जिद्धि गर्दा गर्ने व्यवहार सुरु गर्छु तर उनी कम छैनन् । मैले त्यस्ता परिस्थितिमा गर्ने व्यवहारको नक्कल गर्न खप्पिस छिन् । उनी खुब हाँस्छिन् । मलाई थाहा छ उनी यस्ता समयहरुमा हाँस्नुको एउटा मुख्य कारण आमासँग खेल्न पाउनु हो । छोराछोरीलाई आमा बाबासँग खेल्न पाउनु सबैभन्दा बढी खुशीको कुरा हुन्छ । हामी सानो छँदा घरमा चेस, बाघचाल खेल्ने गरेको मलाई राम्रोसँग सम्झना छ । परिवारमा समय बिताउन पाउँदा केटाकेटी रमाउँछन् यदि अभिभावकले समय दिने हो भने । आखिर कहाँ आउँछ र बालापन फेरिफेरि? अनि कहाँ रहन्छ मान्छे यस्तै निर्दोष, निष्चल, स्निग्ध सधैंभरी?