यात्रामा सुनेको संवाद: सुकुम्वासी मुद्धा

पब्लिक गाडिमा चढ्नुको एउटा सुन्दर पक्ष भनेकै सामान्य जीवन बाँचिरहेका आफूजस्तै धेरै मान्छेहरुलाई एकैपटकमा भेट्न पाउनु हो । हाइसको सुन्दरता सानो समुह हुनुमा छ । सानो हुनाले गर्दा ८ घण्टाको यात्रामा लगभग सबैसँग कुराकानी गर्न भ्याइन्छ । मलाई त एउटा परिवार सँगै हिंडेजस्तो पो लाग्छ । हिजो हाइस चढेर काठमाडौंबाट जनकपुर आउँदाको एउटा प्रसंग लेख्दैछु । करिब २१–२२ वर्षका दुई युवक थिए ।

युवक १ः तिम्रो घर काठमाडौं नै हो? 

युवक २ः हो ।

युवक १ः काठमाडौंमा कहाँ?

युवक २ः वानेश्वर ।

युवक १ः वानेश्वरमा घरै हो?

युवक २ः अँ, त्यो शान्तिनगरमा ।

युवक १ः आफ्नै घर हो?

युवक २ः अँ, आफ्नै घर थियो, ऐले त भत्काइदिहाल्यो बालेनले ।

युवक १ः हँ?

युवक २ः शान्तिनगरमा सुकुम्बासीको घर भत्कायो नि बालेनले ।

युवक १ः ए, तिमी पनि हुकुमबासी पो हो?

युवक २ः होइन, सुकुम्बासी हो ।

युवक १ः सुकुम्बासी त सबै राखिसक्यो नि नागार्जुनमा । दिनमा ४ पल्ट खानेकुरा देको छ ।

युवक २ः काँ देको छ? केइ देको छैन । सब भगाइदियो । कसैलाई केइ देको छैन सरकारले ।

युवक १ः अनि तिम्रो घर छ कि छैन त?

युवक २ः छ बर्दिबासमा । जग्गा पनि छ ४–५ कठ्ठा ।

युवक १ः अनि? मैले भनेको नि तिमी हुकुमबासी हो, अनि कहाँ दिन्छ त बालेन सरकारले?

युवक २ः हैन, हुकुमबासी । सुकुम्बासी हो ।

युवक १ः अनि किन घर बनाको त सरकारी जग्गामा?

युवक २ः अब काठमाण्डुमा एउटा घर त चाइयो नि ।

युवक १ः किन चाहियो काठमाडौंमा घर? आफ्नो हुँदाखाँदाको घर छोडेर, जग्गा जमीन खेती उब्जनी नगरेर सबै बाँझो छोडेर हिंड्ने अनि काठमाण्डुमा जबरजस्ती सरकारी जग्गालाई मेरो हो भनेर घर बनाउने, त्यस्तो पनि गर्ने हो?

युवक २ः काँ अब २८ वर्षदेखि बसेको आफ्नो घर त हो नि ।

२८ वर्ष । त्यही घरमा जन्मे होलान् यिनी, त्यसको माया लाग्नु स्वाभाविक हो । तर २८ वर्षसम्म घाम, ताप, वर्षा, हिउँद नदी किनारमा काट्नु कति कष्टकर रह्यो होला उनकी आमालाई उनका पितालाई... । टीनले बारेको खरले छाएको टहरोभित्र बालकलाई जन्म दिंदा, त्यो शिशुलाई पुष माघको चिसोमा चाहिने जति न्यानो दिन नसक्दा, साउनको झरीमा घर बग्ने हो कि आफैं बग्ने हो को डरमा बाँच्नुपर्दा कस्तो लाग्यो होला? त्यसबेला उनलाई त्यो घर बँचाउन बढी जरुरी भयो होला या आफ्नो दुधे बालक? कस्तो संघर्ष थियो उनको... कस्तो संघर्ष ती तमाम महिला पुरुषको जसले सुकुम्बासीको रुपमा आफ्नो बाल्यकाल, यौवन र वृद्धावस्था गुजार्नुपर्छ । अनि कस्तो मन ती निर्लज्ज पशुहरुको जसले यो बाध्यतामाथि पनि व्यापार गर्छन्, राजनीति गर्छन् । अहिले सुकुम्बासीको मुद्धालाई चकाएर आफ्नो राजनीतिक स्वार्थपूर्ति गर्न लागिपरेका सबैलाई चेतना आओस् जीवन जन्मदेखि मृत्युसम्मको मात्रै यात्रा होइन, यो यात्रा मृत्युपछि पनि निरन्तर चलि नै रहनेछ र त्यस समयको जीवनका भोगाइहरुमा आजका हाम्रा एक एक कर्म (मानसिक, वाचिक र कायिक)का फल हामीले भोग्नैपर्छ । कर्म सुद्ध गरौं भन्ने जिजिविसा सबैमा जागोस् । यो मानिसको बाध्यतामाथिको व्यापार र राजनीतिको अन्त्य होस् । श्री ऊँ परम प्रभु ।। श्री ऊँ प्रभु ।

युवक १ः होइन, सरकारको जग्गामा घर बनाउँदैमा त्यो तिम्रो हुन्छ त? त्यो खोलाको किनारमा बसेर दिनदिनै मजदूरी गर्यो, बिरामी भको दिन खानेकुरा छैन । तेस्तो पनि गर्ने हो? अब घर जाऊ, मजाले खेती गर । खेती गर्यौ भने कस्तो नभए पनि ६ महिनालाई मजाले खान पुग्छ । अनि ६ महिना त काम गरेर कमाएको पैसाले चल्छ नि । त्याँ बसेर झरी वर्षामा त्यो घर पनि बगाइदिन्छ अनि...

युवक २ः अँ दाइ, वर्षामा त लास्टै दुःख पाउँथ्यो । तर काठमाण्डुमा एउटा घर भए पनि थियो । इटा सिमेन्टको घर पनि बनाएको भर्खरै, त्यो त बगाउने थिएन बाढीले । डोजर चलाएर भत्काइदियो । सामान सार्ने टाइम पनि दिएन । अब फेरि चुनाव आउँदैछ, चुनावमा बालेनलाई भोट दिन्छ त मान्छेले अब?

युवक १ः दिन्छ नि, किन दिंदैन? उसले राम्रो काम गरिराखेको छ ।

युवक २ः दिंदैन भोट । सबको घर भत्काइदियो ।

युवक १ः कसको भत्कायो? अन्त भको घर छोडेर जग्गा सबै बाँझो राखेर काठमाण्डुमा सरकारी जग्गामा घर बनाउनेहरु सुकुम्बासी हो? सबै हुकुमबासी हो । म भए त सूचना पनि नदिकन डोजर चलाउने थिएँ । 

युवक २ः एउटा घर त थियो ।

युवक १ः अनि भनेको हैन त बर्दिबासमा घर छ भनेर?

युवक २ः छ, तर काठमाण्डुमा घर हुँदा सजिलो हुन्छ नि । म त आन्दोलनमा पनि गको थिएँ तर पुलिसले पिट्यो । टाउकोमा टुटुल्को पनि उठेको थियो, तर बस्यो । मेरो दिमागमा प्रब्लम भयो होला है, तेसरी पिटेर । डाक्टरलाई देखाउनुपर्छ होला है?

युवक १ः होइन हौ केइ भको छैन । राम्रै छौ त । 

युवक २ः टुटुल्को उठेको थियो नि ।

युवक १ः के आन्दोलन गर्न ग’को, काम गर्न छोडेर?

युवक २ः घर दिन्छ कि भनेर ग’को नि । तर अब त आश पनि छैन । आफ्नो घर जग्गा भ’को लाई दिन्न भन्छ । सबै रेकर्ड छ उनीहरुसँग, कसको कहाँ घर छ कति जग्गा छ सबै रेकर्ड राखेको छ ।

युवक १ः होइन तिमीले आश पनि गर्ने होइन के । तिमी घर जग्गा सबै भ’को हुकुमबासी हो ।

युवक २ः छ जग्गा त । कमाएर खाने हिम्मत छ ।

युवक १ः भै गो त । फेरि किन सुकुम्बासी सुकुम्बासी गर्छौ?

युवक २ः तेइ पनि, काठमाण्डुमा घर हुनु भनेको राम्रो कुरा हो । ऐले त भाडा तिरेर बस्नुपर्यो ।

युवक १ः अनि काठमाण्डुमा एत्रो मान्छे भाडामा बसेको छन् त । सबैको घर हुन्छ त?

युवक २ः अँ, अब त आश पनि छैन केइ दिन्छ भनेर ।

युवक १ः आफ्नै घर जग्गा भ’को मान्छे के चाइयो क्या तिमीलाई?

यो नटुङ्गिने वार्तालापबाट निन्द्रा देवीले मलाई बचाइन् । बनेपा बर्दिवासको बाटोमा निदाउन नसकेर मलाई गाह्रो हुन्थ्यो अरुबेला तर यी भाइहरुको कहिल्यै नसकिने वार्ताले लोरीको काम गरेछ । खाना खाने ठाउँसम्ममा आइपुग्दा त्यो तथाकथित सुकुम्बासी भाइले अर्को साथी बनाइसकेछन् । चुरोट पिउनमा व्यस्त उनको निधारमा सानो चोट देखें । तर त्यसपछिको यात्रामा उनले सुकुम्बासी उच्चारण गरेनन् । उनी आन्दोलनका विषयमा बोलिरहेका थिए । 

हे गैर–सुकुम्बासीलाई आन्दोलनका लागि उक्साउनेहरु हो, समयले सबैको न्याय गर्दा तिम्रो पनि गर्ला नि? पहिले आफूलाई बँचाएर मात्र आफ्नो कर्मको निर्णय लिने हो कि?