२०५८ मंसिर १ गते, बिहानको तीन बजे, सेनाले ड्याडीलाई लग्दा भने — भोलि बिहानसम्म फर्काइदिन्छौं । त्यो भोलि ५ महिना २० दिनपछि आयो । यो त्यही प्रतीक्षाको, त्यही साहसको, र त्यही घरको कथा हो ।
२०५८ साल मंसीर १ गतेको घटना ।
दिदी वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत हुनुहुन्थ्यो । दाजु काठमाडौंमा इन्जिनियरिङ्ग अध्ययनको तयारीकालागि अध्ययनरत हुनुहुन्थ्यो । ड्याडी बिहान भा.सी. उ. मा. वि. झुम्कामा कक्षा एघार र बाह्रलाई नेपाली विषय पढाउनुहुन्थ्यो, दिउँसो सेकेन्ड्री बोर्डिङ्ग स्कूल ईटहरीमा नेपाली विषयका शिक्षक हुनुहुन्थ्यो । म कक्षा १२ मा पढ्दै थिएँ । घरमा ड्याडी ममीसँग म मात्रै थिएँ । ड्याडीको कार्तिक महिनाको तलब त्यसै दिन आएको थियो । सधैं झैं घरको मासिक रासन पनि त्यसै दिन आएको थियो । मंसिरको १ गतेको रात म ममीको आवाज सुनेर ब्युँझिएँ । भित्ते घडीमा बिहानको ३ बजेको थियो । ममीले “हैन, किन वहाँको हात समाउनुभएको तपाईंहरुले?” भनेको सुनेपछि मैले आफ्नो कोठाको ढोका खोलें । वरन्डामा सेनाहरु थिए । एकजनाले ड्याडीको हात समातेका थिए । ड्याडीले ममीलाई शान्त हुन भन्नुभयो । म मौन हेरिरहें ।
एकले भने, “हामीले वहाँलाई छानविनको लागि लैजादै छौं भोलि बिहानसम्म छोडिदिन्छौं ।”
अर्काले भने, “वहाँको कपडाहरु दिनुस् । वहाँ भित्र जान सक्नुहुन्न ।”
ममीले प्रश्न गर्नुभयो, “किन? आफ्नो कपडा पनि लिन जान नपाउने? फेरि बिहानै फर्काउने हो भने कपडा किन चाहियो? ”
ड्याडीले ममीलाई “कपडा ल्याइदेऊ” भन्नुभयो । ममी भित्र गएर कपडा लिएर आउनुभयो । अनि उनीहरुले ड्याडीलाई ठूलो ट्रकमा चढाए । हामी घर बाहिर उभिंदासम्म उनीहरुले गाडि हिंडाएनन् । ममीले भन्नुभयो, हिंड । भित्र जाऔं । हामी यहाँ बसेसम्म यिनीहरु जाँदैनन् । हामी ममीहरुको सुत्नेकोठाको झ्यालबाट बाहिर चिहाउन थाल्यौं । ड्याडीलाई राखेको ट्रक पहिले पूर्व तिर लाग्यो । त्यसको पछिपछि अर्को उस्तै ट्रक हाइवे मा रहेछ । आज कति धेरै जनालाई पक्डिएछन् । यिनीहरु रातभरी मान्छे पकड्छन् । ईटहरीको व्यारेकमा लग्छन् होला । भोलि एमालेका नेतासँग गएर कुरा गर्नुपर्छ ।” दुःखी आवाजमा ममीले भन्नुभयो । ड्याडी त्यस समय भा.सि.गा.वि.स. वडा नं. ५ बाट निर्वाचित वडा अध्यक्ष हुनुहुन्थ्यो । सेकेन्ड्री बोर्डिङ्ग स्कूलमा पढाउन नथाल्दा सम्म ड्याडीले वडाको काम गरिरहनुभएको थियो । दिनभरी वडा कार्यालयमै बस्नुहुन्थ्यो । तर दिउँसोको स्कूल पढाउन प्रस्ताव आउँदा वडा कार्यालयमा २ वर्षको कार्यकाल बाँकी नै भएको कारण वडा सचिवले कार्य गर्न सक्ने गरी आफ्नो कार्यभार जिम्मा लगाएर ड्याडी उता पढाउन लाग्नुभयो । यस कुरामा वहाँले चुनाव जित्नुभएको पार्टी एमाले ड्याडीसँग रुष्ठ थियो । यसबारे हामी अनविज्ञ थियौं ।
माओवादीले झुम्कामा एकाध दुई कार्यक्रम गरेका थिए । ती कार्यक्रममा धेरै मानिस भेला हुन्थे । ड्याडी पनि जानुभएको थियो । उनीहरुले ड्याडीलाई केही पुस्तक दिएका थिए र अन्य कार्यक्रममा आउन भनी निम्ता दिएका थिए । दुई तिर प्राध्यापन गर्ने व्यक्तिलाई त्यस्ता कार्यक्रममा गइरहने फुर्सद त्यसरी मिल्दैन थियो । ड्याडी हुन्छ भन्दिनुहुन्थ्यो जानुहुन्न थियो । ममी यसकुराले डराउनुहुन्थ्यो । एकातिर माओवादीको तारो भईंदैछ, अर्कोतिर सेनाले भटाभट मान्छे पक्डिंदैछ । यो माओवादीका किताब किन ल्याउनुभएको तपाईंले? बेकारमा त्यसैले गर्दा भोलि माओवादी हो भनेर दुःख दिन बेर छैन । जलाइदिनु सबै । जलाउन पनि डर छ । को माओवादी हो, को होइन थाहा पनि छैन । जलाएको देखे भने उनीहरुले मार्लान् भन्ने डर ।
किन यस्तरी आत्तिएकी तिमी? गर्नु न बिराउनु किन कसैले केही गर्छ? ड्याडी कति सहज जवाफ दिनुहुन्थ्यो । ड्याडी सबैलाई आफूजस्तै सम्झनुहुन्थ्यो । उनीहरुले ती किताब दिए त अब हैन, म लग्दिन भन्न भयो?
अनि किन जानुप¥यो त उनीहरुको कार्यक्रममा?
हेर्न गएको नि के कुरा गर्दा रहेछन् भनेर । यी कांग्रेस, एमाले ले पनि केही गरेनन् देशमा गतिलो, तिनीहरुले केही गरिहाल्छन् कि ।
एस्तो डरमर्दो छ । हामीलाई जो आए पनि एउटै त हो । सबैले आफ्नो भूँडी भर्छन् । तेस्सै हामी फँस्छौं ।
सधैं त्यस्तो हुँदैन । यिनीहरुले राम्रो गर्लान् ।
आखिर भयो त त्यही । “नानि, ती माओवादीका किताब लगेर लुकाइदिउँ । सेना छापा मार्न आयो भने यो माओवादी नै र’छ भनेर ड्याडीलाई फेरि छोड्नैन ।” ममीले सम्झाउनुभयो । अनि ड्याडीले घरमा ल्याउनुभएका जे जति बुकलेट, किताबहरु थिए ती सबै हामीले बारीमा लगेर लुकायौं । भित्र आएपछि ममीले मलाई “अहिले जाऊ, सुत, बिहान भएपछि उठ्नू” भन्नुभयो । म निस्कन लाग्दा फेरि भन्नुभयो, “नानि, कसैको अगाडि नरुनू, दुःखी नहुनू, कसैलाई केही नसुनाउनू । दिदी दाजुसँग फोनमा कुरा गर्दा पनि केही नभन्नू । छिट्टै छोड्लान् । हामीले कसको के नै बिगार्या छ र? तर तिमी कमजोर नहुनू । कमजोर मान्छेलाई सबैले हेप्छन् ।” म चुपचाप निस्किएँ । निद्रै नलागे पनि गर्ने कुरा या काम थिएन । ममी पनि सायद एक्लै भएपछि रुन चाहनुहुन्थ्यो होला ।
बिहान म कोठाबाट निस्कँदा सधैं झैं ममीले नित्यकर्म सकिसक्नुभएको थियो । ममीले तिमी स्कूल जाऊ भनेर मलाई घर नबस्ने निर्देशन दिनुभयो । आज के हुन्छ भन्ने अन्यौलता बीच म बिहान साढे पाँच बजे स्कूलका लागि निस्किएँ । सबैचिज हिजोजस्तै थियो, फरक म मात्रै थिएँ । मेरो मन पढाइमा थिएन, शिक्षकले बोलेका कुरा मेरो दिमागभित्र पसिरहेका थिएनन् । ड्याडीलाई सेनाले कहाँ लग्यो? कैले छोड्छ? ममी कसलाई भेट्न जानुभयो र तिनले ममीलाई के भने? के राति भनेजस्तै सेनाले ड्याडीलाई छोडिदियो त?
घर फर्केपछि थाहा भयो, ममी गा.वि.स. अध्यक्ष शंकर चौधरीसँग भेट्न जानुभएको रहेछ । उनले कुरा सुन्न मानेनछन् । ममीलाई निराश गरेर फर्काइदिए । केही दिनसम्म ममी दिनहुँ कैले कसकोमा कहिले कसकोमा धाइरहनुभयो । हामीलाई थाहा भएन कि ड्याडीलाई कहाँ राखेको छ, कस्तो अवस्थामा राखेको छ । कसैले हेरौंला भनेर बुझौंला भनेर त कसैले हप्काएर पठाए । ममी दुःखी हुनुहुन्थ्यो तर हिम्मत उस्तै थियो । ममीलाई देख्दा लाग्थ्यो कसैले चाहेर पनि ड्याडीलाई दुःख दिन सक्नेछैन । तर हरेक ठाउँबाट निराश भएर फर्कनुपर्दा र ड्याडी कहाँ हुनुहुन्छ भन्ने सम्म थाहा नपाउँदा धेरै गाह्रो भएको थियो । त्यसबेला ममीको काकाको छोरा, हाम्रो मामा डिएसपी हुनुहुन्थ्यो । सबैतिर हार गुहार गर्दा केही नलागेपछि ममीले मामालाई फोन गर्नुभयो । मामाले “म पत्तो लगाउँछु” भन्नुभएको थियो । अनि खबर आयो, ड्याडी लगायत धेरै शिक्षकलाई भान्टाबारीको सेनाको ब्यारेकमा राखेको छ । ममी भेट्न जानुभयो, भेट गर्न दिइएन तर अँध्यारो सानो एउटा प्वालमात्र भएको कालकोठरीमा राखेको छ भनेर उनीहरुले बताइदिए । त्यसदिन ममी धेरै निराश हुनुहुन्थ्यो । घरमा सधैं माया, सम्मान र स्याहार पाउनुभएको ड्याडीप्रति राज्यले गरेको व्यवहार अत्यन्तै क्रुर थियो ।
आखिर किन? ड्याडीको के अपराध थियो कि वहाँलाई सेनाले त्यस ठाउँमा राख्यो? मलाई लाग्छ, शिक्षकहरुसँग राज्य डराएको थियो । शिक्षकले चाहेमा देशमा जस्तो सुकै परिवर्तन पनि ल्याउन सक्छन् भनेर सायद शिक्षकहरुको गला अवरुद्ध गर्न चाहन्थ्यो ।
सेनाले त्यसरी केही दिन भाण्टावारीमै राख्यो । ममी धाइहरनुभयो, यसरी नआउनुस् भन्यो । ममी अन्याय सहन नसक्ने मान्छे । बीना गल्ती किन यसो गर्दैछौ भनेर बोलिरहनुभयो । धेरै बोल्नुभयो भने मारिदिन्छौं भनेर धम्की दिए । ममी चुप हुनुभयो । हामीलाई धेरैले भन्थे, सेनाले पकडेपछि मार्छ, अब बिमलसर फर्केर आउनुहुन्न । धेरैले धेरै कुरा सुनाउँथे । पानीमा डुबाएर मार्छ रे, जमीनमुनी जिउँदै गाड्छ रे, अनेक अनेक कुरा...। मलाई सुन्न गाह्रो हुन्थ्यो । सोच्थें ममीलाई झन् के लागिरहेको होला, वहाँलाई झन् कति सुन्नुपरिरहेको छ ।
हरेकदिन बेलुका ममी सम्झाउनुहुन्थ्यो, “तिमी रुने छैनौ, कमजोर हुने छैनौ । कसैको कुरा नसुन, ड्याडी आउनुहुन्छ । म जे गर्नुपर्छ गर्छु तर ड्याडीलाई उनीहरुले छोड्नैपर्छ । खाएको वीष लाग्छ, नखाको वीष लाग्दैन ।” कति धेरै हिम्मत, कति धेरै शाहष, कति धेरै स्थिरता, कति धेरै दृढता ममीमा ।
केही समयपछि मामाको सहयोगमा ड्याडीलाई सेनाबाट प्रहरीको हिरासतमा ल्याइयो । प्रहरी कार्यालय इनरुवामा सारेपछि हामी दैनिक जान पाउने भयौं । बिहानको खाना घरमै बनाएर लैजाने भनेर कहिले ममी त कहिले म खाना पु¥याउन जान्थ्यौं । मेरो स्कूल चल्दैथियो त्यसैले म प्राय शनिबार जान्थें, अरु दिन ममी नै जानुहुन्थ्यो । मैले खाना लिएर जाँदा ड्याडीहरु सबैजना घाममा बसिरहनुभएको हुन्थ्यो । शिक्षक, पत्रकारहरुको टोली थियो त्यो । बाहिरको खान नरुचाउने ड्याडीका लागि बेलुकाको खाना सरोज मामाको घरबाट आउँथ्यो । खाना लिएर जाँदा हामी सिधै छिर्न पाउँदैन थियौं । गएर एउटा फलैंचामा बस्नुपथ्र्यो । जब ड्याडीहरु सबैजना घाममा आउनुहुन्थो, तब मात्र हामी त्यता जान पाउँथ्यौं । म ड्याडीसँग केही बोल्दिन थिएँ । ड्याडीले सोध्नुभएका प्रश्नहरुको जवाफ मात्र दिन्थें । मलाई नराम्रो लाग्थ्यो यसरी ड्याडीलाई राखेको छ भन्ने कुराले तर आफूले केही गर्न नसक्ने भएकाले बोल्ने कुरा पनि नभए झैं लाग्थ्यो । ड्याडी ममीको बारेमा सोध्नुहुन्थ्यो, कोसँग भेट भयो, कसले के भने, इत्यादि । केही नयाँ थाहा भयो कि, यहाँबाट निकाल्नेमा कुनै प्रगति छ कि भनेर वहाँका जिज्ञासा हुन्थे । म आफूले थाहा पाएको, बुझेको कुरा भन्थें । तर चित्तबुझ्दो कुनै जवाफ कतैबाट आएकै थिएन ।
मेरो पढाइमा भने यस कुराले असर गर्दैथियो । एकदिन हरि सरले मलाई अफिसमा बोलाउनुभयो । हरि सर प्रिन्सिपल हुनुहुन्थ्यो र पहिले ड्याडीसँगै सरकारी स्कूलमा पढाउनुभएको सहकर्मी पनि हुनुहुन्थ्यो । त्यही नाताले म यस विद्यालयमा भर्ना भएकी थिएँ र त्यहाँ हरि सर र लक्ष्मी सरले मलाई छोरीजस्तै माया गर्नुहुन्थ्यो । अफिसमा हरि सरले भन्नुभयो, नानि, तिम्रो बाबालाई पुलिसले पकड्नाले तिमीलाई असर परेको छ, मलाई थाहा छ । तर पुलिसले बाबालाई केही गर्दैन । हामी पनि भेट्न जान्छौं । चिन्ता नगर्नूृ । आज न भोलि छोडिदिन्छ । यो कुरालाई लिएर आफ्नो पढाइ बिग्रिन नदिनू । दह्रो हुनुपर्छ ।” वहाँको अनुहारमा चिन्ता थियो । एक सहकर्मीप्रति भएको राज्यको गलत व्यवहारको र सायद एक विद्यार्थीको पनि । वहाँजस्तै हजारौं शिक्षकहरु देशभरबाट समातिएका थिए । कोही सेनाको बर्बरताका शिकार थिए, कोही प्रहरीको थोरै उदारताका भागी थिए । वहाँले दिनुभएकोे ढाडसले राहत त दियो तर एक महिना, दुई महिना, तीन महिना... खै त ड्याडीलाई प्रहरीले रिहा नै गर्दैन । अनि कसरी मान्नु? दिनहुँ मान्छे पकडेको मात्र खबर आउँछ, कसैलाई रिहा गरेको खबर नै आउँदैन । कोसँग गएर भन्नु? कसले दिनसक्छ जवाफ कि कुन कसुरका लागि ड्याडीलाई उनीहरुले जेल चलान गरे, कसले बताउने कि कहिले रिहा गर्छन् ।
एकदिन हाम्रो कक्षाको साथी दुर्गा बिहान स्कूल आउन भनी बस चढ्ने बेलामा अर्कै बसले ठक्कर दिएर दुर्घटनामा परी विपिकेआइएचएस भर्ना भए । क्लासका सबै साथी उनलाई भेट्न धरान जाने भए । म पनि गएँ । त्यहाँ पुगेपछि दिदीलाई त भेट्नै प¥यो । मलाई देख्ने बित्तिकै दिदीले सोध्नुभयो, के भयो नानु? घरको खबर त ठीक छ? मैले ठीक छ भनें । दिदीले भन्नुभयो, होइन । तिमीलाई देख्दा त मलाई त्यस्तो लागेन । अनि बसाएर सबै कुरा सोध्नुभयो । मैले पनि बताएँ । झूठो बोल्न कहिल्यै आएन । कुरा लुकाउने खालको अनुहार पनि रहेनछ । त्यसदिन साँझ दिदी घर आउनुभयो, भोलिपल्ट ड्याडीलाई भेट्न जानुभयो । १५ वर्षको उमेरमा नर्सिङ्ग पढ्न जानुभएको दिदी २० वर्ष पुग्दा सम्म कति धेरै परिपक्व र जिम्मेवार भइसक्नुभएको थियो । दिदीको त्यसदिन घर आउनुले मलाई धेरै दिन देखिको खालिपन भरेजस्तो भएको थियो । ड्याडीको गिरफ्तारीको बारेमा हामीले दाजुलाई अझै पनि बताएका थिएनौं । दिदी आएर ड्याडीलाई भेटेपछि ममीको अनुहारमा पनि थप विश्वास र आशा पलाएजस्तो लागेको थियो मलाई । दिदी हप्तै पिच्छे घर आउनुहुन्थ्यो । ममी धेरैपटक एमाले नेताहरुको ढोका ढक्ढकाउन पुग्नुभयो । प्रहरी कार्यालयबाट प्राप्त सूचना अनुसार ड्याडीको बारेमा एमाले नेताहरुबाट निवेदन पुगेको थियो, यो माओवादी हो, यसलाई पक्डनुस् भनेर र जबसम्म एमाले पार्टीले नै रिहाइको लागि पत्र काट्दैन तबसम्म ड्याडीलाई निकालिने छैन । यसकारण उनीहरुको सिफारिश जरुरी थियो । जतिपल्ट जाँदा पनि उनीहरुले सहयोग गर्ने खालको व्यवहार गरेनन् । एकदिन “बिमल सरलाई ज्वाईं जसरी राखेको छ पुलिसले, किन निकाल्न प¥यो?” भनेर जवाफ फर्काएपछि ममीले “अब यिनको पछि लागेर हुँदैन । यिनीहरुको पछि लाग्यो भने कहिल्यै पनि निकाल्न सकिंदैन । अरु नै उपाय गर्नुपर्छ ।” भन्नुभयो । त्यसपछि ममी विभिन्न पार्टीका नेताहरुलाई भेटेर कसैगरी निकालिदिन अनुरोध गर्न थाल्नुभयो । यसबीचमा हामीलाई केही व्यक्तिहरुबाट आड, भरोसा र साथ प्राप्त भयो ।
आफन्तहरु त हामीकहाँ आउन डराउनुहुन्थ्यो । ड्याडीलाई भेट्न जान पनि डराउनुहुन्थ्यो । इनरुवा हाम्रो मावली शहर । मामा, हजुरआमाहरु एकपल्ट पनि ड्याडीलाई भेट्न जानुभएन । एकदिन ममीलाई खै के भन्दिनुभएछ (मैले ऐले बिर्सिसकें), ममी दुःखी हुनुभएको थियो । फागुन १ गतेको दिन ड्याडीको जन्मदिन पारेर आमा ढुकुरपानीबाट झुम्का आइपुग्नुभयो, ड्याडीको लागि टि–सर्ट बोकेर । निराशा र पीडा मिश्रित आमाको अनुहार मलाई सम्झना छ । सायद आमा पनि जानुभयो जेलमा ड्याडीलाई भेट्न । लहरी दिदीको पनि तालिम परेको थियो इनरुवामा त्यो बेलामा, सायद वहाँ पनि जानुभयो । अरु को को जानुभयो म सम्झन्न । कोही जानु या नजानु, कसैले सान्त्वना दिनु या नदिनु कति अर्थपूर्ण रहन्छ भन्ने कुरा यस्तै समयमा महसुस हुँदोरहेछ । समयसँगै त ती कुरा पनि बिर्सिईंदो नै रहेछ ।
फाल्गुन पनि बित्यो, आज निकाल्छ भोलि निकाल्छ भनेर दिन गन्दा–गन्दै चैत्र पनि बित्यो । केही केही मानिसहरुको रिहा पनि भयो भन्ने सुनिन थाल्यो । हामीलाई झन् अधैर्यता हुन थाल्यो । ममीले चिनेजति पहुँचवाला सबैलाई हात जोड्नुभयो । गंगा, आफ्नै पार्टीले धोका दिएकाले ज्वाईंलाई निकाल्न निकै मुस्किल परेको छ । म केही न केही उपाय लगाउँछु । तिमी धैर्य गर । भनेर एकजना आफन्त पर्ने ममीले काका भन्नुहुने व्यक्तिले भन्नुभएको थियो । हामी वहाँको भरोसा परेका थियौं । अरु उपाय पनि थिएन । प्रहरीले ड्याडीलाई बिहान आज बेलुकासम्म तपाईंको रिहाइ हुन्छ भन्थ्यो । बेलुका, आज हुन सकेन अब भोलि भन्थ्यो । यस्तै गर्दै हप्ता बिते । ममी अनवरत धाइरहनुभयो । अन्ततः २०५९ वैशाख २० गते, मेरो कक्षा १२ को परीक्षा सुरु हुनुभन्दा २ दिन अगाडि प्रहरी हिरासतबाट तारिक धाउने पत्र थमाएर ड्याडीलाई घर पठाए । घर पठाएपछिको ड्याडीको पहिलो निर्णय थियोः “मैले जुन ठाउँको लागि आफ्नो जिन्दगी लगाइदिएँ, त्यस ठाउँमा ममाथि यति धेरै अन्याय भयो । अब म यो ठाउँ कुनै हालतमा बस्दिन । तारिकको दिन आउँछु, अन्यथा अब काठमाडौं बस्ने हो । यहाँ नबस्ने ।”
