जनकपुरधाम डायरी — २ (Janakpurdham Diary-2)

In the lanes of Janakpurdham, a woman wakes before dawn, cleans other people's homes, and runs a small roadside stall until night falls. Laxmi has lost her house, watched her sons scatter, and still hands money to the man who took everything from her. This essay is not just about her struggle — it is about the kind of love that survives when everything else is gone.

म घरमा सरसफाइको काम गर्ने मान्छेको खोजिमा थिएँ । भाँडा मोल्न मलाई गाह्रो लाग्दैन तर बढार्न र पुछ्न जाँगर चल्दैन । घरधनीले "एकजना छिन् तर उनी अहिले गाउँ गएकि छिन्, आएपछि कुरा गराइदिन्छु" भनेको पनि एक महिना बितिसकेको थियो । इरालाई हेरिदिएर मेरो काममा सहजता ल्याइदिन ममी ड्याडी जनकपुर बसिदिनुभएको थियो । एकदिन घरधनीले हरिप्रियालाई ममी ड्याडीसँग भेटाइदिनुभएछ । साँझ अफिसबाट फर्केपछि ममीले कुरा गर्नुभयो । मैले राखिहालौं भने । भोलिपल्टदेखि हरिप्रिया काम गर्न थालिन् । सुरुसुरुमा उनी मसँग खासै बोल्दिन थिइन् । म पनि बोल्दिन थिएँ । खासै भेट पनि हुँदैन थियो । उनी आउँदा मलाई अफिस निस्कन हतार भइरहेको हुन्थ्यो । ममी ड्याडी काठमाडौं फर्किने दिन "भोलिदेखि बिहान छिटै आएर काम गर्नू, छोरीले साढे आठ बज्दा खाइसक्छे । ऊ जाने बेलामा अरुकाम सकेर तिमीले भाँडा सफा गरिसक्नुपर्छ" भनेर ममीले सम्झाइदिनुभएको रहेछ । म भान्सामा काम गर्दै गर्दा उनी आइपुगिन् । बढार्न थालिन् । विस्तारै विस्तारै हामीबीच कुराकानी हुनथाल्यो । मसँग भन्दा बढी हरिप्रियाको इरासँग कुरा हुन्थ्यो । "नानु, खाना खानु न ।" भनेर उनले भनेको सुनेपछि मैले थाहा पाएँ उनी राम्रो नेपाली बोल्दिरहिछिन् । कुरा गर्न सजिलो भयो । बिहान उनी काममा आएपछि म सोध्थें, "हरिप्रिया चिया खानुहुन्छ?" उनी "नाईं" भन्थिन् । पछि थाहा भयो, उनी चिया खान्न रैछिन् । 

"हरिप्रिया, तपाईं यति राम्रो नेपाली कसरी बोल्नुहुन्छ? कहाँ राम्रो बोल्छु? पैले कस्तो राम्रो नेपाली बोल्थिएँ, काठमाण्डुमा बस्दाखेरी । अब त धेरै वर्ष भयो । १३ वर्षमा आएको काठमाण्डुबाट । ऐले त मेरो छोरा नै २० वर्षको भइसक्यो । "

"तपाईं काठमाण्डु बस्नुहुन्थ्यो?"

"हो त । पाटनमा । त्यो पाटन अस्पताल छ, त्यहाँ मेरो भाइ काम गर्छ । डाक्टर छ ।"

"अनि तपाईं चाहिं किन अर्काको घरमा काम गर्नुहुन्छ?"

"मेरो एस्तै मान्छेसित विहे भयो त के गर्नु? भाइले भन्छ कि दिदी तिमी त्यहाँ नबस रे, आऊ हामीसँग । तर म जाँदिन । मेरो छोराहरु छ नि, मैले उसकोमा गएर के गर्नु? कसलाई कसलाई हेर्छ उसले? म कसैको भार बन्न चाहन्न । आफूले कमाउँछु, खान्छु । पढेलेखेको छैन त के काम पाउँछ । यही झाडुपोछा त गरेर खान्छु नि ।"

हरिप्रिया इरालाई धेरै माया गर्छिन् । म काठमाडौं हुँदा बेलाबेलामा फोन गरेर हामी सबैको बारेमा सोध्छिन् । इरालाई एकपटक जनकपुर ल्याउनुस् मलाई हेर्न मन छ भनेर पनि बेलाबेलामा भनिरहन्थिन् । एसपाली वार्षिक परीक्षा पछि अलिक लामो छुट्टी भएकाले म इरालाई लिएरै आएकी थिएँ । "हरिप्रिया आन्टिसँग भेटाउन लैजान्छु" भन्दा इरा पनि फुरुक्कै परेकि थिई । एकदिन हरिप्रियालाई भेट्न लिएर गएँ । इरालाई देखेर हरिप्रिया अचम्मै परिन् । खुशी कहाँ पोखुँ के गरुँ जस्तो भइन् । नानु, यो खानुस् भन्दै ढुंग्रे पापड दिइन् । अनि हात समातेर नजिकै बसिन् । हातमा म्वाइ खाँदै हामीलाई छोडेर किन जानुभएको? अब मलाई पनि लैजानुस् । म नबस्ने यो जनकपुरमा । हजुरको बीना मलाई मनै लाग्दैन यहाँ । म पनि काठमाण्डु जाने, मलाई पनि बोलाउनुस् काठमाण्डुमा ।

इरा चुप रही, पापड खाइरही । त्यहाँबाट निस्किनेबेला हरिप्रियाले इरालाई हातमा पैसा राखिदिन खोजिन् । उसको लिने बानी छैन । मैले नदिनुस् भन्दा पनि उनी जिद्धि गरिरहेकी थिइन् तर इराले पटक्कै लिन नमानेपछि उनले हार मानिन् । हामी अलिक पर पुगेपछि छोरीले सोधीः मम्मा, हरिप्रिया आन्टी किन तेस्तो गर्नुहुन्छ? किन तेति धेरै पल्ट म पनि काठमाण्डु जाने, मलाई पनि लैजानुस् भन्नुभएको? जान मन भए गए भैहाल्यो नि । 

एकदिन हरिप्रियाले मलाई भनिन्, "हेर्नुस् न, मैले कुर्था सुरुवाल लगाएको कुरालाई लिएर मेरो बुढाले मलाई जे पायो तेही गालि गर्नुभयो ।" 

"किन र?"

"सारी पनि लगाउँदैन । जनकपुरमा बसेर बिग्रियो रे भनेर । अब यो कुर्था हेर्नु, कति राम्रोसँग सिलाइदिएको छ । मलाई शरीरमा पनि सजिलो छ खुकुलो लगाउनलाई । गर्मीमा पोल्दैन । मैले त आगोको छेउमा बसेर धेरै काम गर्नुपर्छ नि, त मलाई येइ सजिलो । कहिलेकाहीं गाउँको कोहि आयो भने सल टाउकोमा राखि हाल्छु । त भयो नि? भन्छ कि तिमीले सारी लगाउनुपर्छ, मेरो बेइजत गरिरहेछौ ।"

त्यो पति जो दिनरात रक्सीको नशामा डुबेर तीन छोराकि आमा हरिप्रियालाई दिनहुँ कुटेर, घरबाट खेदेर, उनी अहिले जनकपुरमा अर्काको घरको भाँडा माझेर अनि सानो चप पकौडाको दोकान चलाएर छोरालाई पढाउँदै जिविकोपार्जन गरिरहेकि छिन् । उनलाई आधा पिठ्यु देखाउँदै, पेट देखाउँदै चिप्लो सारीको घुम्टो ओढेर काम गर्न स्वीकार भएन र सहजताको लागि उनी सालिन कुर्था सुरुवाल लगाउँछिन् भने गाउँदेखि हान्निएर तथानाम सुनाउन आइपुग्ने त्यस लोग्ने मान्छेको के हक? लाजले अनुहार देखाउन पनि नसक्नुपर्ने मान्छे फुर्ती देखाउँदै यो कपडा लगा यो नलगा भन्दै कसरी आउन सक्छ...म सोचमग्न हुन्छु, कहिले बद्लेला यो परिवेश?

"त भै राखोस् उसको बेइजत । तपाईंको बारेमा जसलाई मतलव नै छैन, उसले भनेको कुरामा तपाईं किन दुःखी हुनुहुन्छ? भन्दिनुस्, मलाई जे सजिलो लाग्छ तेइ लगाउँछु । तिमीलाई लाज हुन्छ भने तिमी अनुहार छोपेर हिंड ।"

"अँ, तेइ त," भन्छिन् र फेरि हाँस्छिन् । अनि एकछिन शान्त भएर भन्छिन्, "होस् । छोडिदिनुस् । उसले जे सुकै भनोस् । उसले मलाई कपडा किनेर दिंदैन । मैले आफैंले कमाउनुपर्छ, आफैंले किन्नुपर्छ । जे गर्छु मैले आफैं गर्नुपर्छ । फेरि उसको कुरा किन सुन्नु? जबसम्म मैले गल्ती गरेको छुईंन, सही बाटोमा हिंडिरहेको छु तबसम्म कसैसँग किन डराउने? जे सुकै होस् त्यो  मान्छेले जेसुकै भनोस् मलाई अब मतलब पनि लाग्दैन । मलाई आफ्नो कामधन्दाले नै फुर्सद छैन भने म उसको पछि लाग्न कतिखेर भ्याउँछु?"


उनी बिहान चार बज्दा उठेर पानी भर्छिन् । नित्यकर्म गर्छिन् । आफ्नो घरको सरसफाई गरेर छोराका लागि बिहानको खाना हतारहतार बनाएर अर्काको घरमा झाडुपोछा र भाँडा माझ्न पुग्छिन् । एक घर, दुई घर, तीन घर...दिउँसो हुन्छ, सानो छोरो खाना खाएर आफैं स्कूल जान्छ । उनी भोकले रन्थनिएर घर आइपुग्छिन्, हातगोडा धुन्छिन्, बिहान बनाएको चिसो खाना नतताई कपाकप खान्छिन्, एक गिलास पानी नपिएसम्म पेट भरिएजस्तो लाग्दैन । शरीरले थाकें भने पनि मनले मान्दैन । जुठा भाँडा माझेर थन्क्याउँछिन् र आगो फुक्न थाल्छिन् । एकछिनमा ग्राहक आउन थाल्छन्, तयारी त गर्नै पर्यो । चपका लागि आलु उसिन्नु छ, कचरीको लागि प्याज काट्नु छ, हिजोआज बडी पनि धेरैले माग्न थालेका छन् अलिकति बनाउन सक्दा बिक्नेथियो...।

"आठ साढे आठबजेसम्म चप र कचरी बिक्छ । बेच्नैपर्यो नि म्याम, घर भाडा छ चार हजार रुपियाँ । यो दुईटा कोठाको चार हजार लिन्छ । छोरालाई पढाउँदैछु । सहकारीमा अलिअलि जम्मा गर्छु । नगरेर कसरी हुन्छ? बुढोलाई विदेश पठाउँदाको रीन पनि तिर्नुछ । साउले मसँगै माग्छ । उसले कमाइ गर्दैन त उसले कहाँ तिर्छ? मेरो बुबाले मेरो शशुरालाई हेरेर मेरो विहे एस्तो मान्छेसँग गरिदिनुभयो । मेरो शशुरा धेरै राम्रो मान्छे हुनुहुन्थ्यो । पढेलेखेको, सम्पतिवाल थियो । सबैको अगाडि इज्जत थियो । तर म एस्तो मान्छेसँग फसिहालें, न त पढेको छ, न कुनै काम गर्छ, न मलाई पैसा दिन्छ, म आफैं कमाएर खाइराखेको छु त उल्टै बेलाबेलामा आएर पैसा समेत खोसेर लैजान्छ । कस्तो राम्रो म काठमाण्डुमा बसिरहेको थिएँ मेरो आन्टीको घरमा । त्यहीं काम गर्थें खानासाना पकाउने, साफसफाइ गर्ने, नेपाली बोल्न पनि कति राम्रोसँग सिकेको थिएँ । बिदामा आएको थिएँ त मलाई बुवाले विहे गरिदिनुभयो । भन्नुभयो कि राम्रो परिवारको केटा छ । तर केटाको त आफ्नो बुद्धि नै छैन । आमाले उकास्यो, त ऊ झगडा गर्न आइहाल्छ । आमा चाहिं फेरि मेरो कुरै सुन्दैन, मलाई देख्नै सक्दैन । भन्छ कि यो राम्रो केटी छैन । अनि छोरो चाहिंले पनि आमाको कुरा मात्रै सुन्छ । म नराम्रो मान्छे हुन्थें भने तीन तीन ओटा छोरा लिएर म गाउँमा सासुसँग दुःख गरेर बस्थें? छोराहरुलाई गाउँमा सरकारी स्कूलमा पढाएन, शहरमा राम्रो स्कूलमा पठायो भनेर उसले मेरोबारेमा कुरा लगायो । उसले पनि आमाकै कुरा मात्रै सुन्छ ।" उनी स्मृतिमा हराउँछिन् ।

"कति राम्रो कमाइ गर्दैहुनुहुन्थ्यो विदेशमा । पैसा पठाउनुहुन्थ्यो त मैले तीन ओटै छोरालाई यो मिथिला मन्टेश्वरी स्कूलमा होस्टेल राखिदिएको थिएँ । बाबुहरु पनि राम्रोसँग पढ्दै थिए । मेरो छोराहरु । तर, बुढियाले भन्यो कि एसले सबै पैसा अर्कोलाई बुझाउँदैछ, घरमा खर्च गर्दैन । गएर सबै इस्कुलको मास्टरलाई दिन्छ । त मेरो बुढो काम छोडेर घर फर्किहाल्यो । भन्यो कि म कमाउँछु तिमी अर्कोलाई दिन्छौ, म अब कमाउँदिन । त आदमी कमाउँदैन त छोराछोरी कहाँबाट पढाउँछ भन्नु त? अनि मेरो छोराहरुलाई मैले स्कूलबाट निकालिहालें । अनि जेठो छोराले सरकारी स्कूल जान मानेन । बाउ पनि रक्सी खाएर हिंड्न थाल्यो, छोरोले पनि तेइ सिकिहाल्यो । अनि माइलो छोरोलाई मैले मेरो आन्टीको घरमा पठाइदिएँ । तर ऊ पनि पढ्दैन । अब काम गर्न थालेको छ वहाँहरुकै पसलमा, काठमाण्डुमा । यो सानो छोरा मसँग छ । एसलाई पढाउँछु । ऐले एक कक्षामा गयो । भन्छ कि पढ्छु । तेस्कै लागि काम गर्दैछु । अब मलाई काम नगरे कसले खान दिन्छ र? बुढो त बिग्रेर हिंडेको छ, छोरालाई समेत बिगारेको छ । तेस्को मैले आशा पनि गर्दिन । मलाई भन्यो कि तिमी निस्किहाल मेरो घरबाट त म आएँ । अब यहाँ आउँछ बेलाबेलामा अनि पैसा माग्छ । अस्ति आएर मैले जम्मा गरेको पैसा लिएर गयो । अब फेरि कुन दिन आउँछ, झगडा गर्छ अनि पैसा लिएर जान्छ ।"

"किन दिनुहुन्छ त पैसा?"

"नदिनुपर्ने, तर माया लाग्छ । उसले कमाउँदैन त उसलाई पनि पैसा त चाहियो नि ।"

"अनि उसलाई रक्सी खानको लागि तपाईंले एति दुःख गरेर पैसा कमाइदिएको हो त?"

"त्यो त होइन नि । तर अब के गर्नु? होस्, लैजाओस्, खाओस् । भगवान तेस्लाई पनि बँचाइहाल्नुहुन्छ । अब म के गरुँ त?"

म अवाक छु । माया को कुनै रुप हुन्थ्यो भने कस्तो देखिन्थ्यो होला? त्यसको कुनै रंग हुन्थ्यो भने त्यो कस्तो होला?

नोटः नाम परिवर्तित