On the occasion of Matatirtha Aunshi, a daughter writes about her mother - through childhood memories of Bhai Tika, a mother who still cooks for children too far away to eat, and the quiet wisdom of the karela (bitter-guard).
एसपाली जनकपुरमै अड्किने लक्षण छ । हुन त आमासँग बस्न मातातीर्थ औंसी चाहिंदैन र, ईश्वरले मेरो लागि यस्तो व्यवस्था रचिदिनुभयो कि सधैं ममी ड्याडीसँगै बस्न पाएकी छु । तर कर्मको सिद्धान्त पनि बुझाइदिनुभएको छ, सधैं सँगै बस्न पाइन्न, कर्मले डाहो¥याएजसरी हिंड्नैपर्छ ।
ममीले हामी स्कूलमै छँदा, “तिमीहरु सधैंभरी घरमै भाइटीका मनाओ” भन्नुभएको खुब सम्झना हुन्छ मलाई । घरमा भाइटीका नआएको धेरै भयो । वर्षमा गन्न हात र खुट्टाका औंलाले नभ्याउनेगरी धेरै । यसबीचमा भाइटीका नमनाएको त होइन, तर घरमा ममीको अगाडि, माइला मामाले मन्त्र पढिदिनुहुँदा दिदी र मैले ओखरको पूजा गरेर हामीले तेल पानीको कलशबाट दुबोको माध्यम तुरुरु पानी चुहाउँदै दाजुको वरिपरी घुमेको दृश्य त अब कल्पनामा मात्रै आउँछ । माइला मामाको देह अब संसारमा रहेन । दिदी वासिङ्टन र दाजु टेक्सस हुनुभएको पनि १६–१७ वर्ष भयो । यसबीचमा वहाँहरुले त एकवर्ष पनि सँगै भाइटीका मनाउन पाउनुभएको छैन भने मैले नेपालमा सँगै भेला भएर मनाउन पाइएन भनेर त के नै गुनासो गर्नु र? सन् २००५ मा दाजुले मलाई प्लेनको टिकट काटेर भाइटीका मनाउन नोइडा बोलाउनुभयो । प्लेनको पहिलो सफर थियो त्यो, लक्ष्मीपूजाको दिन । नेपाल वायुसेवा निगमको साँझ४ः४५ को फ्लाइट रातिको १०ः४५ मा सर्नु यो अर्थमा रमाइलो भयो, कि, मैले आकाशबाट अत्यन्तै सुन्दर दृष्य देख्न पाएँ । लक्ष्मीपूजामा सजिएको दिल्ली शहर आकाशबाट औधी मनमोहक देखिएको थियो । तर, बीचमा केही वर्ष भाइटीका नमनाएको र इन्डिपेन्डेन्ट्ली कहिल्यै तिहार नमनाएको भएर हो या किन, त्यो वर्ष भाइटीकामा दाजुलाई टीका मात्रै लगाइदिएँ, केही गर्न आएन । मेरोलागि हालसम्मको अन्तिम भाइटीका त्यही हो, त्यसपछिका भाइटीकाहरु भौंतारिएको मान्छे जतापायो उता ठोक्किएजस्तै भएका छन् । न त कहीं मिठास छ, न त उत्सुकता । केवल नामको लाग्छ यो पर्व । त्यसो त दिदी दाजु घरमा नभएदेखिका दशैं तिहार खल्लै भए सधैं । तर काठमाडौं मै मनाउँदा पनि दशैंमा आफन्त धेरै भेला हुने र हल्लीखल्ली हुने भएर अलिक रौनक भइरहन्थ्यो । तिहार भने दिदी दाजु घरमा हुँदा सम्म मात्र रमाइलो थियो । पछिल्ला वर्षहरुमा हामी गुरुधाममा जोडियौं, परमगुरुबाट पाएका दिव्य आशिर्वचनहरुले हामीलाई चाडपर्वका महत्वहरुबारे स्पष्ट पार्दै आए र गुरुधाम परिवारसँग मनाउँदा सबै चाडपर्वले अर्थ बोक्न थालेका छन् । गएका दुई वर्ष जीवनले काँचुली फे¥यो — मन–मानसिकता, बुद्धि–विचार सबैले काँचुली फेरे । गएको भाइटीकामा हामीले गुरुधाम परिवारसँग भाइटीका पनि मनायौं । त्यसदिन टीकाको साइत पारेर पनि भाइटीका मनाइएको थियो, बुनुदिदीकहाँ हामी भेला भएका थियौं । आँखा चिम्लेर अनुदित (भाइ) को हातबाट टीका लगाउँदा एउटा दिव्य दृष्य मेरो सामुन्ने आएको थियो । योग, ध्यान गर्ने अनुदितभित्र दिव्यता भएकाले मैले त्यो अनुभव पाएकी थिएँ । पछि हेर्दा फोनमा गुरुधाममा भाइटीका मनाउने सन्देश पनि आएको रहेछ । उत्सुकता र अन्यौलताबीच बहिनी अस्मिता, छोरो संरक्षण र म गुरुधाम पुग्यौं । त्यसदिन विशेष थियो र भित्रबाट विशेष सन्देशहरु पनि आइरहेका थिए । तयारी गर्दै गर्दा मलाई थाहा भइसकेको थियो कि मैले कसलाई टीका लगाउनेछु । आँखामै त्यो जवाफ भएजस्तो...अनौठो पनि लागिरहेको थियो । क्रमवद्ध बसेर एउटै समयमा एक बहिनीले एक भाइलाई टीका लगाइदिन पाउँदा छुट्टै रमाइलो भयो । पकाइ–खाइ गरियो, मादलको तालमा गुरुधामका तिहारका भजनमा साँझसम्म नाचियो, अनि वर्षौंपछि पहिलोपटक तिहार साँच्चै नै तिहारजस्तो लाग्यो । आगामी वर्षहरुमा यो अझ सुन्दर बन्दै जाने आशा छ । यति हुँदाहुँदै पनि, त्यो बाल्यकालमा मनाएका दशैं तिहार जस्तो नरहँदो रहेछ उमेरसँगै चाडवाडहरुको रौनकता । शरीरले पनि गुलियो, चिल्लो सहन नसक्ने भएपछि सेलरोटी र खाजा (पत्रे) बाहेक अरु मिठाइ बनाउने कि नबनाउने भनेर दुईचारपल्ट नसोची नहुने । धेरैबेर बसेर काम गर्न ममीलाई ढाडले र हातले साथ नदिने, आफ्नो ढंगै छैन (म तीसवर्षसम्म घर बस्दा ममीले सधैं “तिमी आफ्नो काम गर, भान्साको काम म गर्छु” भनेर पुल्पुल्याएपछि के सिकिन्थ्यो र?) । बनाएका परिकारहरु खानेबेलामा ममीले सधैं आफूले त बनाएर खायो नि, छोराछोरी त्यति टाढा छन् बनाएर ख्वाउन पाईंदैन भनेर गुनासो गर्नुहुन्छ । आमाबुबाको मन, आफ्नो उमेर जति नै भए पनि छोराछोरीलाई आफ्नो हातले बनाएर ख्वाउन, आफैंले गरेर पु¥याउन मन लाग्दोरहेछ । दिदी दाजुले हामी आफैं बनाइहाल्छौं नि भन्दा पनि ममीको मन मान्दैन । दिदीले, दाजु–भाउजुले बेलाबेलामा बनाएर फोटो पनि पठाइदिनुहुन्छ, बनायौं, खायौं भन्नुहुन्छ । तर पनि, ममीलाई हरेकपटक मैले ख्वाउन पाईंन भन्ने नै परिरहन्छ । दाजुलाई गुलियो मनपर्छ, भाउजुलाई अचार मनपर्छ भनेर घरमा बनाउनुहुन्छ अनि कैले ख्वाउन पाउनु खै? खाने मान्छे टाढा छन् भन्नुहुन्छ । हाम्रा आमा बुबाको अर्कै तरिका छ । हुन त आफूलाई ममीले पकाएको खानेकुरा नमीठो कहिल्यै लागेन । त्यसो के भन्नु? चिल्लो पीरो नभएसम्म आफूलाई खानेकुरा नमीठो कहिल्यै लागेन । चिल्लो पीरोलाई नमीठो भनेको होइन, शरीरले सहन नसक्ने भएकाले नरुचाएको भन्नु उपयुक्त होला । सानो छँदा “कुभिण्डो नमीठो लाग्छ” भन्ने गर्थें रे, मलाई कुभिण्डो खाएको सम्झना छैन तर कुभिण्डोको खैपी मीठो हुन्छ भनेर एकपटक राखेको जस्तो लाग्छ, सम्झना छैन । तर प्रकाशपुर घुम्दैगर्दा मानिसहरुका घरका छानाभरी फलेका कुभिण्डा मलाई निकै आकर्षक लाग्थे । प्रकृतिले यति धेरै सिर्जना गर्दा पनि कति सुन्दर गर्नसक्ने हगि? हरेक सिर्जना...। हेर्नुस् न, त्यति तीतो करेला पनि हेर्दा कति आकर्षक हुन्छ...कसले कुँद्छन् ती बुट्टाहरु... र फेरि, त्यति धेरै तीतो भएर पनि कति धेरै गुण बोकेर बसेको छ । मानव जीवन पनि कहिलेकाहीं करेलाजस्तै लाग्छ । बाहिरबाट मानिसहरुले हेर्दा सुन्दर, कलात्मक, रचनात्मक । जीवनका अनेकन् परिस्थितिको स्वाद केवल चाख्नेलाई थाहा हुन्छ । तर, तिनै परिस्थितिले निखारेर हामीलाई जे बनाउँछ त्यो बेसुमार गुणवान । ममीलाई नै हेर्छु — ममीका जीवनका भोगाइहरु... एक जमिन्दारकी छोरी जसले घरमा कहिल्यै अभाव देख्नु परेन, तर विवाहपछिको जीवन वहाँको लागि सहज रहेन । वर्षेनी जन्मिएका हामी छोराछोरी, पढाइको सिलसिलामा घरबाट टाढा रहनुभएको ड्याडी, सुविधाविहीन त्यो समयमा प्रकाशपुरको बसाई... । अनि भान्टाङ्गभुन्टुङ्ग छोराछोरी लिएर झुम्काको पातलो बस्तीमा, आर्थिक संघर्षका बीच घर बनाउनु, गाइवस्तु पाल्नु, घर चलाउनु... नयाँ ठाउँ, नयाँ परिवेश, वरिपरि कोही आफन्त नभएको र चोरी हुनु सामान्य रहेको त्यो समय...। दाजु जन्मिंदादेखि ममी छोराछोरी लिएर एक्लै हुनुहुन्थ्यो भनेर थाहा पाएको दिन मैले बुझेकी थिएँ कि ममी यति शाहषी, यति निडर, यति स्पष्ट कसरी हुनुभयो । (यस विषयमा कुनै दिन फेरि लेखौंला, आजको लेखमा ममीको बारेमा सबै कुरा लेखेर सकिन्न ।) तर, २० वर्ष नपुग्दै विवाह भएर २३ वर्षमा ३ सन्तानकी आमा भइसक्नुभएकी मेरी आमालाई मैले शाहष, आत्मविश्वास र दृढताको जीवन्त उदाहरणको रुपमा पाएकी छु । स्ट्रङ्ग येट भल्नरेवल भन्छन् नि, त्यस्तै लाग्छ मलाई ममीलाई हेर्दा । भौतिक सुन्दरताको कुरा गरौं भने पुराना फोटोहरु हेर्छु, ममीजति सुन्दर कोही थिएन, कोही हुँदैन जस्तो लाग्छ । कति राम्री हाम्री आमा । अस्ति भर्खर ६६ वर्ष पूरा हुनुभयो । वंशाणुगत आशिर्वाद हो, सेतै फुलेको कपाल त, अनि त्यही वंशाणुतग मधुमेशसँग डराएर ममीले झ्वाट्टै खाना कम गरेर तौल घटाउनाले अनुहार शरीर पनि चाहुरियो र भौतिक सुन्दरतामा असर प¥यो । तर पनि, त्यो व्यक्तित्वको ओज जो छ, त्यही काफि छ कोहीनुर झैं चमक फैलाउन । हुन त सबै मानव त्यस्तै हुन् हगि?समयले, परिस्थितिले, जीवनले यही त बनाउँछ हामीलाई । र आफु... हजुर, आफुजस्तो लाग्ने पक्ष पनि यही हो मेरो लागि । बलियो तर नाजुक, भौतिक देहमा अलग दृष्य तर भित्रबाट हिरा झैं स्पष्ट, स्नीग्ध, सुन्दर, तेजवान... मानव हुनु आफैंमा सुन्दर कुरा हो । आमा साथमा हुनु सबैभन्दा सुन्दर ।
.png)