“आउँदिन छोरी, म दुई हप्ता पछि मात्रै आउँछु ।”
“नाईं, बुवाको वर्थ डे मा हजुर आउनुपर्छ ।”
“मिल्दैन नि त ।”
“हजुरलाई याद छ नि, हामी जनकपुरबाट सधैं आउँथ्यौं बुवाको वर्थडेको दिन ।”
“आउँथ्यौं, तर ऐले मैले निस्कन मिल्ने अवस्था छैन । धेरै काम छ । अब म एकैपल्ट होलीभन्दा अगाडि आउँछु ।”
“नाईं, तेसो गर्न मिल्दैन ।”
मसँग उसलाई सम्झाउने शब्दहरु छैनन् । मलाई काठमाडौं–जनकपुर–काठमाडौंको जीवनशैले कहिलेकाहीं दिक्क लाग्छ कहिलेकाहीं ठीकै लाग्छ । जीवनयात्रामा गरिएका विभिन्न निर्णयहरुको प्रतिफल हो वर्तमान । जीवन सधैं एकैनास हुँदैन । जन्म–जीवन–मृत्यु अनवरत चलिरहेको छ । जीवनले हामीलाई लतारिरहेको छ या हामी जीवनलाई लतारिरहेका छौं? परिस्थितिले हामीलाई लतारिरहेको छ या हामी परिस्थिति सिर्जना गरिरहेका छौं? जीवन हामीले बनाएजस्तो बनिरहेको छ या हामी जीवनले बनाएजस्तो बन्दै गएका छौं? जवाफ जटील छ । परमगुरु त्रिकुटेश्वरानन्द आफ्नो रचनामा भन्नुहुन्छ – कहिलेकाहीं लाग्छ मलाई, जीवन जगत भ्रम हो कि! जीवन जगत होइन होला, यसलाई हेर्ने आँखा हो कि? आँखा पनि होइन होला, आँखाभित्र हेराई हो कि? फरक फरक हेराईभित्र भावरुपी भ्रम हो कि?
हाम्रो ड्याडीममीका हामी तीन जना सन्तान । हामीले एउटै घरमा आफ्नो बाल्यकाल बितायौं । ड्याडी ममीको परिश्रमबाट हाम्रालागि जे पनि सम्भव भयो त्यो सबैका लागि बराबर थियो । हामी छोराछोरीले हेर्ने दृष्टिकोंण अलग अलग थिए होलान् तर वहाँहरुले हेर्ने दृष्टिकोंण पक्कै एउटै थिए – यिनलाई हामीले यस्तो भविष्य दिनुपर्छ कि हामीले जस्तो संघर्षपूर्ण जीवन बाँच्यौं त्यसभन्दा सुन्दर, सुमधुर, सुखपूर्ण यिनीहरुको जीवन होस् । बुबाआमा ती व्यक्ति हुन् जसले सधैं छोराछोरी आफूभन्दा माथि पुगुन्, आफूभन्दा बढी सुखी र संवृद्ध होउन् भन्ने अहोरात्र प्रार्थना गर्छन् अनि त्यसका लागि दिनरात मेहनत गर्छन् । कसैले भनेर, सुनाएर, सम्झाएर, सिकाएर त कसैले चुपचाप! जति गरिरहँदा पनि मैले गरेको पुगेन, कम भइरहेको छ, अझै गर्नुपर्छ भन्दै अनवरत वर्षौंवर्ष नथाकी, नदुखी, मैले अर्कोको लागि गरें भनेर नसोची चुपचाप । मलाई ड्याडीको बारेमा लेख्ने भनेर सम्झँदा एउटा प्रसंग सधैं स्मृतिमा आउँछ । हुन त मैले धेरै सानो उमेरलाई सम्झनुपर्दा ड्याडीलाई विद्यार्थीहरुको बीचमा पढाइरहनुभएको एक भद्र व्यक्तिको रुपमा स्मरण गर्छु । त्यो बेलाको दृश्य हुवहु सम्झना नभए पनि, म बिहान उठेर आफ्नो कोठाबाट बाहिर निस्कँदा हलमा ड्याडीसँग ट्युसन पढ्न आउने कक्षा ९ र १० का दिदी दाइहरुको भीडहुँदै बाहिर निस्कनपथ्र्यो । वहाँहरुको कापिमा कोरेर मैले कखरा सिकें । मेरो मनमौजीले हैरान भएर एकदिन एकजना दाइले चुटुक्कको कापि ल्याएर यसमा लेख्ने गर भन्नुभएको रे भनेर सुनेको कुरालाई मैले आफ्नो दिमागमा चित्रांकित गरेकी छु । तर, यो अरुबाट सुनाइएको भन्दा पनि बढी मलाई आफूले देखेको कुरा सुनाउन मनलाग्छ । हामी स्कूले विद्यार्थी थियौं । दाजु र म एसओएस हर्मन माइनर गइसकेपछि पनि दिदी भासिमावि मै पढ्नु हुन्थ्यो । ड्याडी सरकारी विद्यालयमा मा.वि. तहसम्म पढाउनुहुन्थ्यो । जब बोर्ड परीक्षाहरु हुन्थे, ड्याडिकहाँ चाँङका चाँङ उत्तर पुस्तिकाहरु आउँथे । हाम्रो घरमा रिडिङ्ग रुम नाम गरेको हाम्रो पढ्ने कोठा थियो । उत्तरको कोठा भनेर हामी सुत्ने कोठालाई बुझिन्थ्यो । अनि दक्षिणको कोठा ड्याडीममीको । जब ती उत्तर पुस्तिका हाम्रो घर आउँथे, ड्याडी दक्षिणको कोठा भित्रबाट बन्द गरेर बस्नुहुन्थ्यो र काम गर्नुहुन्थ्यो । बाहिर निस्कँदा त्यो कोठामा ताला लाग्थ्यो । जबसम्म उत्तर पुस्तिका हाम्रो घरबाट स्कूल जाँदैनथे, तबसम्म त्यो कोठामा जान हामीलाई मनाही हुन्थ्यो । ड्याडीले कुन विद्यालयको उत्तर पुस्तिका जाँच्नुभएको हो भन्ने कुरा हामीलाई भनकसम्म पनि हुँदैनथियो । यो कुरा हाम्रोलागि नर्मल थियो, मैले यसबारे कहिल्यै सोचिंन । तर, एकपटकको घटना हो, दिदीको एसएलसी परीक्षाको समय नजिकिंदै थियो र हाम्रो छिमेकमा भाडामा बस्ने एकजना दिदीकै शिक्षकले दिदीसँगै पढ्ने वहाँका आफ्ना छोरालाई ती शिक्षकले आफ्नो विषयको प्रश्नपत्र दिएर त्यसमा तयारी गर्न भन्नुभएको छ रे भन्ने खबर सुन्दा हामी तीन छक्क परेका थियौं । शिक्षकले नै आफ्ना सन्तानलाई यसरी चोरी गर्न सिकाए भने हामीले नतिजा कस्तो अपेक्षा गर्ने, भनेर परिवारमै यो गलत हो भनी छलफल पनि ग¥यौं । विद्यालयको परीक्षा उतीर्ण गर्नु या त्यसमा अब्बल नम्बर ल्याउनुभन्दा पनि जीवनका परीक्षामा नआत्तिने बनाएर सन्तान हुर्काउनु बढी जरुरी हो भन्ने ड्याडीको सिद्धान्त थियो । त्यसबेला ड्याडीप्रति मलाई असाध्यै धेरै सम्मानभाव आएको थियो । सन्तानप्रतिको जिम्मेवारी कसरी लिने त्यो हुन त आफ्नो आफ्नो तरिका होला, आफ्नो आफ्नै निर्णय पनि । कसैले सर्टकट खोज्लान् कसैले इमान्दारिता...अभिभावकत्व कस्तो ठूलो जिम्मेवारी हो । यो ईश्वरले बनाइदिनुभएको एउटा विचित्र व्यवस्था छ, जिम्मेवारीबोधको । यति नहुँदो हो त संसार कस्तो हुँदो हो? एक पिता गैरजिम्मेबार भए बालकको के अवस्था हुन्छ? एक जिम्मेवार पिताको छत्रछहारीमा हुर्किन पाउनु कति ठूलो भाग्य हो भन्ने कुरा म महसुस गर्नसक्छु । गैरजिम्मेवार व्यक्तिसँग बाँचिसकेपछि त्यो कुरा अझ स्पष्ट हुँदोरहेछ । र यो उमेरमा म आफ्ना अभिभावकसँग बसिरहेकी छु भन्ने कुरा आशिर्वाद लाग्दोरहेछ । सबै छोराछोरीको भाग्यमा आफ्ना आमाबुबासँग बस्ने समय लेखिएको हुँदैन । मेरै दिदी दाजु अमेरिका हुनुहुन्छ । केहीवर्षको अन्तरालमा केही दिनलाई ड्याडीममीसँग बस्न पाउनुहुन्छ । हामी कर्म बन्धनमा छौं । हामीले जीवनलाई बनाएको हिसाबले या जीवनले हामीलाई बनाएको हिसाबले, हामीले सिर्जना गरेका परिस्थितिले या परिस्थितिले सिर्जना गरिदिएको हाम्रो अवस्थाले, हामीले भोगिरहेको वास्तविकताले या या मनस्थितिबाट सिर्जित परिस्थितिले...चाहे जे सुकैले होस्, हामीलाई बाँधेकै छ । विज्ञानको विकाश, समय, परिस्थितिले दिएमा हामी लाइभ भिडियो कल दिनहँु गर्नसक्छौं। नभ्याउँदा भिडियो, भोइस, टेक्स्ट मेसेज छोड्न सक्छौं । दूरी भए पनि दूरी छैन तर पनि सँगै हुनु र भर्चुअल्ली हुनुमा फरक त छ । म घरमा बसेर ड्याडीममीको आवाज मात्र सुन्दिन, वहाँहरुले पूजा गर्नुभएको समय घरभित्र बग्ने त्यो अथाह आशिर्वादको महासागरलाई महसुस गर्छु । ममीले घण्टौंसम्म एउटै आसनमा बसेर ध्यान गर्नुहुँदा केवल वहाँभित्र नभई हामीसम्म पनि आइपुग्ने परमतत्वका सन्देशहरु सुन्छु । ड्याडीले कम्प्युटरमा बसेर दिनभरी परमवाणीलाई वर्ड फाइलमा कैद गरिरहनुहुँदा म मेरा कर्ममा सहजताको आशिर्वाद पाइरहन्छु । मलाई थाहा छ, ड्याडीममीको परिश्रमको फल त हामीले जहाँ भए पनि पाइ नै रहन्छौं । सन्तान हुनुको शौभाग्य यही रहेछ कि आफ्ना अग्रज, आफ्ना पितृ पुर्वजका कर्मको फल स्वतः पाइने । अध्यात्म–चेत हुनुभएका, आध्यात्मिक यात्रामा अगाडि बढिरहनुभएका अभिभावकको सन्तान भएपछि शान्ति, सुख, उन्नति विर्तामा ल्याएजस्तै हुनेरहेछ । तर पनि सँगै हुनुको आनन्द शब्दले वर्णन गर्न सकिंदैन । हाम्रो ड्याडीममी – जसले यो संसारमा अवतरण गराउनुभयो । मैले गरेका हरेक गल्तीलाई क्षमा गरेर आफूलाई सजिलो अफ्ठ्यारो के हुन्छ नसोची यो जीवन जीउन सहज परिस्थिति बनाइदिइरहनुभएको छ । मेरा अभिभावक – ड्याडीममी, दिदीदाजु । वहाँहरुको जन्मदिन सँगै बसेर मनाउन मन मलाई पनि हुन्छ, तर सधैं परिस्थिति मिल्दैन । नौ वर्षको उमेरमा ईराले रहर गर्नु राम्रो हो । नौ वर्षको उमेरमा मलाई आफू लगायत कसैको पनि जन्मदिनको पर्वाह थिएन । हामीले जन्मदिन मनाउने गरेकै थिएनौं । स्कूलमा साथीहरुले आक्कल झुक्कल जन्मदिनको चक्लेट (ऐलेको भाषामा टफी) वितरण गरेको सम्झना छ मलाई तर ती वितरणले पनि कहिल्यै आफूलाई आफ्नो जन्मदिन स्मरण गर्न घच्घचाएनन् । कक्षा नौ मा आएर एसएलसीको फर्म भर्ने बेलामा बल्ल जन्मदिनको स्मरण गरियो । त्यो पनि शिक्षकले पछिलाई सजिलो होस् भन्ने मनसायले होला, दुईवर्ष घटाएर जन्ममिति लेखिदिनुभएको रहेछ आफ्नो जन्मबार आइतबारबाट मंगलबार सरेछ । यो सन् १९९९ को कुरा, मैले सन् २००६ मा आएर बल्ल थाहा पाएँ, अरु कसैको मुखबाट! मलाई त मतलव नै थिएन नि त, मेरो जन्मबार आइतबार भन्दै आइतबारलाई खुब मन पराउँदै बायस्ड भएर म हिंडिरहेकी थिएँ तर मेरो सर्टिफिकेट अर्कै कुरा बोल्दैरहेछ ।
भोलि ड्याडीको जन्मदिन । ड्याडीलाई जन्मदिनको धेरै धेरै शुभकामना अनि यो जीवन र यी अनुभवहरुलाई सचेत भई बोधगर्न सक्ने बनाइदिनुभएकोमा कृतज्ञता ।
