Some teachers stay with you for a lifetime, not because they taught you the most lessons, but because they gave you something more rare: dignity. This is the story of Sumitra Miss, my Grade 4 English teacher at SOS Herman Miner School in Itahari, Nepal, and the one moment in 1993 that quietly shaped who I became.
म कक्षा चारमा त्यहाँ भर्ना भएकी थिएँ । सरकारी विद्यालयबाट अंग्रेजी माध्यमको विद्यालयमा पुग्नु पढाइका भारका हिसाबले धेरै ठूलो फड्को मार्नु थियो, म कक्षा ६ मा पुगेकी मान्छे । हामीले सरकारी विद्यालयमा कक्षा चारमा पुगेर मात्रै ए बि सि डि सिक्थ्यौं भन्ने कुरा उनीहरुका लागि दन्त्ये कथा जस्तै हो । तर हामीले व्यहोरेको यथार्थ त्यही हो । आजभन्दा बत्तिस वर्ष अगाडिको कुरा हो ।
.png)
म शैक्षिक सत्र सुरुभएको करिव एक महिना पछि भर्ना भएकी हुनाले नयाँ विद्यार्थी थिएँ । मेरो लागि त्यो विद्यालयको पहिलो दिन जुन शिक्षक आए पनि तिम्रो नाम के हो? भनेर प्रश्न गर्नुहुन्थ्यो । मेरो नाम गमला । यो नाम मेरो लागि अनौठो थिएन । मैले जानेदेखि सुनेको, मेरा वरिपरिका सबैले सामान्य रुपमा उच्चारण गरेको, कहिल्यै कसैले प्रश्न नउठाएको । हर कसैको जस्तै मेरो पनि नाम थियो । तर, यहाँ मेरो नाम स्वयंमा चर्चाको विषय भयो । विज्ञानको शिक्षक आउनुभयो र नाम सोध्नुभयो । मैले नाम भनेपछि वहाँ हाँस्नुभयो र सँगसँगै कक्षाका साथीहरु पनि हाँसे । मलाई नमज्जा लाग्यो तर म नयाँ थिएँ, बोल्न सकिंन । त्यही दिनदेखि मेरो बोल्ती बन्द भयो । अहिले सम्झँदा म त्यस दश वर्षे बालकको मनस्थितिलाई बुझ्न सक्छु । म अहिलेजस्तै थिएँ त्यसबेला पनि । इख थिएन । कसैले केही भनिदिंदा जवाफ दिने शब्द निस्कँदैन थियो । अहिले म आफैंमा यति बलियो भएकी छु कि अरुका कुराले मलाई फरक पर्दैन, छुँदै छुँदैन । त्यसबेला कक्षाका नयाँ साथी र शिक्षक एकैसाथ मेरो नाम माथि हाँस्नुले मेरो बालक मनस्थितिलाई आघात पा¥यो । मैले त्यहाँ साथी देखिंन सबै अन्जान अपरिचित मानिसहरु मात्र देखें । मनैमन सायद मैले सबैसँग दूरी बनाएँ ।
चौथो कक्षा पछि टिफिन ब्रेक भयो । पाँचौं घण्टीको कक्षामा सुमित्रा मिस आउनुभयो । फेरि उही प्रश्नः “तिम्रो नाम के हो?” म उठेर बोल्न नपाउँदै एक साथीले उछिनेर भन्यो, “उसको नाम गमला हो मिस ।” अनि सबैजना गलल्ल हाँसे । म मौन निहुरिएँ । सुमित्रा मिसले कक्षालाई शान्त बन्न भन्नुभयो, मेरो नजिक आउनुभयो र भन्नुभयो, “तिम्रो नाम धेरै राम्रो छ । गौरवसाथ आफ्नो नाम लिने गर । शिर ठाडो पारेर । कसैसँग डराउनु पर्दैन ।” १० वर्षको उमेरमा पाएको यो ढाडस म कहिल्यै बिर्सन्न । एसओएस हर्मन माइनर स्कूल ईटहरी सन् १९९३ सायद मे महिना थियो होला, मेरो आँखामा सुमित्रा मिसका कुहिरा आँखा, टिनिक्क बाँटेको एक चुल्ठो मोटो कपाल, अगाडिबाट पछाडितिर लगेर फेरी कम्मरको भागमा अगाडि ल्याएर बाँधिएको कुर्था सुरुवालको सल, सुन्दर हँसिलो चहकिलो अनुहार... अमीट छाप बनेर बस्यो । वहाँले त्यही एक वर्ष मात्र पढाउनुभयो । हामी कक्षा पाँचमा पुग्दा वहाँले हाम्रो स्कूल छोड्नु भएछ । तर म त्यो अनुहार त्यो आवाज अझै उसैगरी सम्झन्छु ।
.png)
सुमित्रा मिस हामीलाई अंग्रेजी पढाउनु हुन्थ्यो । सरकारी विद्यालयमा ए बि सि डि सिकाउने हिरा मिस, नयाँ विद्यालयमा गुल्मोहर पढाउने सुमित्रा मिस । गुल्मोहर किताबमा साना अक्षरमा लेखिएका कथा, कविता, निवन्ध... म अंग्रेजीमा वाक्य पनि फुटाउन नसक्ने मान्छेका लागि कति चुनौतिपूर्ण थियो त्यसको शब्दमा वर्णन हुन सक्दैन तर साहित्यमा रुचि हुनाले मेरो लागि गुल्मोहर भन्दा ठूला चुनौति अरु नै थिए – इतिहास हिस्ट्री बनेको थियो, विज्ञान साइन्स बनेको थियो, सामाजिक शिक्षा सोसियल स्टडिज बनेको थियो अनि गणित म्याथम्याटिक्स । मलाई सम्झना पनि छैन मैले सरकारी विद्यालयमा इतिहास, विज्ञान त्यसरी मेहनतसँग पढेको... ती विषय पढाइ हुन थालेको पनि थियो कि थिएन थाहा भएन । पढाई खेल्नु, खानु, हिंड्नु जीवन बाँच्नु जस्तै भएको मलाई अंग्रेजीमा तिनै सबै कुरा पढ्नु ठूलो संघर्ष भयो । दाजु पनि कक्षा पाँचमा भर्ना हुनुभएको, तर वहाँ ट्यालेन्टेड म लद्दु । दाजु पढाइमा अब्बल हुनुभएकोले त्यहाँ पनि राम्रो गर्नुभयो । म भने भर्ना भएपछिको पहिलो मासिक परिक्षामा साइन्समा फेल भएँ । अहिले सम्झना छैन ठ्याक्कै, तर फेल भएँ । त्रैमाशिक परिक्षामा भने मुस्किलले पास भएँ । शिक्षकले माया गरेर पास गराइदिनुभएको थियो कि, बच्चालाई प्रोत्साहन होस् भनेर??
मलाई पढाइमा विश्वाससाथ अगाडि बढ्न करिव दुई वर्ष लाग्यो । त्यसपछि मात्र मैले गति समात्न सकें । बालबालिकाको आत्मविश्वास जगाउने कि घटाउने भन्ने कुरामा शिक्षक शिक्षिकाको सबैभन्दा ठूलो भूमिका हुँदोरहेछ । यस अर्थमा म आफूलाई प्रिभिलेज्ड सम्झन्छु । मैले शिक्षक शिक्षिकाबाट सधैं प्रेरणा पाइरहें । कहिल्यै हिनताबोध गर्नु परेन । तर त्यो मेरो व्यक्तिगत अनुभव मात्रै थियो । केही समय अघि साथीहरुले स्कूलमा आफूमाथि भएका व्यवहारहरुबारे छलफल गर्दा मैले कहिल्यै सम्भव नसोचेका शब्दहरुको प्रहार उनीहरुले सहनुपरेको, उनीहरुलाई निरुत्साह गर्ने अनेकन् घटनाहरु भएको थाहा पाएँ । मसँगै पढेका, हुर्किएका, बढेका साथीहरु पनि के सँग जुधिरहेका छन् भन्ने ज्ञान बीना नै मैले वर्षौं बिताएँछु भन्ने थाहा पाउँदा मलाई असाध्यै नराम्रो लाग्यो ।
हामीलाई पढाउनेमा सुमित्रा मिस एकमात्र महिला शिक्षक हुनुहुन्थ्यो । वहाँको बोलि स्पष्ट, कडा, र ओजपूर्ण थियो ।
मलाई वहाँ औधि मन पर्नु हुन्थ्यो । एक दिन टिफिन ब्रेकमा म एक्लै बसेर खाजा खाँदै थिएँ, वहाँ आएर मेरो अगाडि बस्नुभयो । स्पष्ट सम्झना छैन तर वहाँले मलाई त्यसदिन सम्झाउनु भएको थियो भन्ने कुरा याद छ । “तिम्रो बाबाले ‘छोरी घरमा धेरै बोल्दिन, उसलाई स्कूल कस्तो लागिरहेको छ भन्ने कुरा पनि बताउँदिन’ भन्नुभयो । तिमी स्कूलमा पनि धेरै बोल्दिनौ । तिमीलाई के राम्रो लाग्छ, के लाग्दैन, घरमा कुरा गर्ने गर । आफूलाई केही समस्या छ भने त्यो पनि भन्ने गर । आफ्नो बारेमा बोल्ने बानी गर्नुपर्छ ।” सायद म नबोल्ने प्रवृति कै थिएँ होला या त्यो वातावरण मलाई असहज भयो होला । कक्षा १० सम्म धेरैसँग धेरै नबोली नै मैले माध्यमिक शिक्षा सकें जस्तो लाग्छ । म नबोल्ने मान्छे थिईंन कि भन्ने चाहिं कक्षा ११ र १२ मा आफूले गरेको होहल्ला, विल्कुलै फरक अवतारमा आफूलाई पाएको बाट मैले कक्षा चारमा आफूले पाएको वातावरणबाट अगाडिका छ वर्ष बाँचें कि भन्ने पनि लाग्छ । अहिले पनि म आफूलाई कहीं बोलेको बोलै गर्ने र कहीं मुस्कानले नै काम पु¥याउने मान्छेको रुपमा पाउँछु । त्यसैले आफूलाई अझै बुझ्न सक्या छैन मैले । तर संसारभरीमा मजस्ता पनि त धेरै मानिस होलान् नि । अगाडिको मान्छे संवेदनशील नभइदिंदा म जस्ता मान्छेको एक दिनको अनुभवले वर्षौंसम्मको उसको प्रस्तुति अलग भइदिन सक्छ भन्ने कुराको हेक्का राख्नुपर्छ भन्ने मैले बुझें । मलाई मानिसहरुसँग कुरा गर्न असाध्यै मनपर्छ । उनीहरुका अनुभव, भोगाई, जीवनप्रतिको दृष्टिकोंण जान्न मन लाग्छ र जीवन र जगतप्रति, घटना, परिस्थिति र जीवनशैलीप्रति मानिसहरुको धारणामा के के कुराले भूमिका खेलेको हुन्छ भन्नेप्रति चासो पनि बढ्दै गएको छ । सानो देखि ठूलोसम्म अनुभव, परिस्थिति, भाव, विचार, अभिव्यक्ति ले मानिसलाई असर गरिरहेको हुन्छ । मलाई जजमेन्टल नभई अर्को मान्छेलाई जस्ताको तस्तै जान्न, बुझ्न, महसुस गर्न सक्ने क्षमता आफूमा विकास गर्न पाए हुन्थ्यो भन्ने इच्छा छ । कोशिस हो । तर मानिसमा जति रुचि हाल अरु कसैमा छैन, खै कुन्नि किन । मानिस – जो कोही, हर कोही ।