श्री ऊँ परम प्रभू ।। श्री ऊँ प्रभू ।
२०७४ साल वैशाख ८ गते शुक्रबारको दिन हामी आफूले जचाउँदै गरेको गाइनेकोलोजिस्टकोमा रेगुलर फलो अपमा गएका थियौं । डाक्टरले भनिन्, 'तिमीलाई लेबर पेन सुरु भइसक्यो, घर नजाऊ, एड्मिट होऊ । आज/भोलिमा तिम्रो बच्चा जन्मिन्छ ।' मलाई कतै नदुखी कस्तो लेबर पेन सुरु भयो होला । म अचम्भित भएँ । उनले आफ्नो मेशिनमा देखाउँदै भनिन्, 'ई, यसरी पेन भएको पनि तिमीले थाहा पाएनौ भने कसरी हुन्छ ?' तर तयारी गरेर आउन पर्यो भनेर हामी निस्कियौं । घरमा शाशुले 'झूठो कुरा हो, डाक्टरको पेशा नै त्यसरी चल्छ' भन्दा कताकता हो जस्तै पनि लाग्यो तर डाक्टरको कुरा नै सही हो कि भनेर डर पनि लाग्यो । त्यो दिन सामान्य रुपमै बित्यो । साँझ इभिनिंग वाक जाँदा साथीलाई सुनाएँ । २ छोराछोरीकी आमा, उसलाई त अनुभव छ भनेर सल्लाह मागें । 'तेरो लक्षण हेर्दा त तेस्तो लाग्दैन, केही दुखाइ महसुस भएको छ त?' भनेर सोधी । मैले 'खोइ?' भनें । पेटमा त बच्चा बसेदेखि कहिल्यै दुखेकै छैन । डाक्टरले दिएको डिउ डेट पनि अझै २४ दिन बाँकी छ । उसले पनि 'सजग रहनु, केही शंका लागे डाक्टरकहाँ गइहाल्नु, नकुर्नु' भन्ने सल्लाह दिई । भोलिपल्टको दिन पनि यसै बित्यो । राति हामी सबै सँगै बसेर यु ट्युवमा ऊँ नमः शिवाय हिन्दी सिरियल हेरिरहेका थियौं । ११ बजेपछि मलाई मनमा कतै आज राति नै बच्चा जन्मिने हो कि जस्तो आभाष भयो । मैले आफ्नो कुरा राख्दा शाशु आमाले 'भोलि बिहानै जानु यदि डाक्टरलाई भेट्न मन भए, तेरो अनुहार हेरेर, लक्षण हेरेर कतै लाग्दैन बच्चा जन्माउने । राति जाने काम छैन' भनेर आफ्नो कोठातिर लाग्नुभयो । श्रीमानज्यु अघिल्लै दिन देखि भित्रभित्रै डराएका थिए । यसले अभर पार्ली भन्ने डर । उनले भने, 'यदि तिमीलाई शंका छ भने गइहालौं ।' हामीले डाक्टरले हिजो सम्झाउने बित्तिकै किनमेल गरेर ब्याग तयार पारेका थियौं । उसले आमालाई हिंड्नुुस् अब अस्पतालमै सुत्नू भन्यो र हामी गइहाल्यौं ।
अस्पतालमा नर्स रिसाइन् । 'डाक्टरले सुत्नु पर्दैन, आराम गर्नुपर्दैन? तिमीलाई दिउँसोभरी केही भएन? ऐले राति बल्ल भयो?' भन्दै कराउँदै भए पनि उनले डाक्टर बोलाइछिन् । डाक्टरले मायाले सोधपुछ गरेर आफ्नो मेशिनले जाँचेर नर्सलाई निर्देशनहरु दिएर फर्किन् । हामीले रात त्यहीं काट्यौं । नर्सले तपाईंको भोलि १२ बजेपछि बच्चा जन्मिन्छ भनेर घोषणा गरेर क्यानुला लगाएर एनएस दिन थालेर निस्किन् । शाशु आमा सुत्नुभयो, म पनि केहीबेरमा निदाएँ ।
बिहान घर गएर शाशु आमाले खानेकुरा बनाएर ल्याउनुभयो तर खान सकिंन, वान्ता भयो । छिमेककी दिदी भेट्न आएकी थिइन्, 'एस्तो मान्छेले कसरी बच्चा जन्माउँछ? हाँसी राख्या छ्े, बोलिराख्या छे न कहीं दुख्या छ न गाह्रो भएको देखिन्छ । यसलाई राख्छन् अब हस्पिटलमा । तपाईंहरु बस्नुस्, म ऐले गएँ । केही पर्यो भने मलाई खबर गर्नु नि ।' भन्दै उनी निस्केपछि नर्सले आएर मलाई हिंड्ने सुझाव दिइन् । केहीबेरमा उठवस गर्न लगाइन् र त्यसको करिब २० मिनेटमा मैले छोरी जन्माएँ । दुखेन कतिबेला पनि, केही गाह्रो भएन । मात्र मैले कोशिस गरें र त्यसो गर्दा शिव नाम जपें । मलाई नर्मल डेलिभरी गर्नु छ त्यसैले आफैं कोशिस गर्नुपर्छ अन्यथा सिजेरियन सेक्सन भन्न डाक्टरलाई कत्ति पनि समय लाग्दैन भन्ने मलाई लाग्यो, र मैले भगवान शिवसँग प्रार्थना गरिरहें ।
छोरीको अनुहार मलाई देखाउन आएकी नर्सले भनिन्, तपाईं जस्तै बिरामी आए भने हाम्रो काम धेरै सजिलो हुन्छ । मलाई खुशी लाग्यो । मैले भोलेनाथप्रति आभार व्यक्त गरें ।
जब जब कोही बच्चा जन्माउने कुरालाई लिएर तनावमा भएको पाउँछु सबैलाई म ईश्वरको प्रार्थना गर्ने सल्लाह दिन्छु । पुकार त ईश्वरले सुन्नु हुन्छ तर अब थाहा भएको छ कि हामीमा कति श्रद्धाभाव, अति आस्था, कति भक्तिभाव र कति समर्पणभाव छ त्यसको आधारमा हाम्रो पुकारको जवाफ दिनुहुन्छ । मानिसहरु भन्छन् बच्चा जन्माउँदा हुने दुखाई दुखाईको १ देखि १० सम्मको स्केलमा ७ या ८ तिर पर्छ तर मैले कुनै कष्ट बीना छोरी जन्माएँ । यो कस्तो परमकृपा थियो । ईश्वर दाहिना हुनु भनेको पनि यही रहेछ । जब हामी पूर्ण रुपमा समर्पित हुन्छौं अनि वहाँले हामीलाई धारण गर्नुहुन्छ । हाम्रो सुख दुख शान्ति संवृद्धि सबैको जिम्मा लिदिनुहुन्छ । यसरी समर्पित हुँदा मैले जीवनलाई आशीर्वादको रुपमा पाएँ ।
![]() |
| जन्मने बित्तिकैको इराको फोटोको AI version |
पूजामूलं गुरुर्पदम् ।
मन्त्रमूलं गुरुर्वाक्यं
मोक्षमूलं गुरूर्कृपा ॥
परमकृपा हि केवलम् ।
परमकृपा हि केवलम्
परमकृपा हि केवलम् ।
अब छोरी आठ वर्ष पूरा भइन् । उनलाई पनि गुरुधाम लैजान्छौं । अहिले खेल्छिन्, जपध्यान गर्दिनन्, तर ज्ञानको कुरा गर्छिन् । परमगुरुदेव, गुरुआमा, दिव्यगुरुप्रति श्रद्धा भाव राख्छिन् । उनको श्रद्धा र आस्थालाई भक्तिको मार्गमा लगाउन सकौं यही कोशिस हो । त्यसो त परमचक्षुको दृष्टिमा पर्न पाउनु आफैंमा केही न केही पुण्यताको प्रतिफल हो । उनले आफूमा ल्याएकि रहिछन् र त यति सानो उमेरमै गुरुधामको आँगनमा खेल्न पाएकि छिन् । परमकृपाको वर्षात त अविरल भइ नै रहेको छ । हामीले धारण गर्नसक्ने पात्रता बढाउने बाहेक अरु कुनै कुरामा हाम्रो मेहनत चाहिएको छैन । यति गर्न सकियोस् । हरेक व्यक्तिले परमकृपा महसुस गरी परमरसको आनन्द लिन पाउन्, त्यसका लागि जे गर्न सकिन्छ त्यसमा आफू लागि पर्न सकुँ ।जीवनको उद्देश्य यही हो । श्री ऊँ प्रभू । श्री ऊँ परम प्रभू ।।
