इराको जन्मको बारेमा The Day Era Was Born — A Mother's Account of Birth and Beginning

There are moments in a life that divide everything into before and after. The day my daughter Era was born was one of those moments, not because birth is extraordinary (it is) but because of what I understood about myself in the hours that followed. This is that story.

श्री ऊँ परम प्रभू ।। श्री ऊँ प्रभू । 

२०७४ साल वैशाख ८ गते शुक्रबारको दिन हामी आफूले जचाउँदै गरेको गाइनेकोलोजिस्टकोमा रेगुलर फलो अपमा गएका थियौं । डाक्टरले भनिन्, 'तिमीलाई लेबर पेन सुरु भइसक्यो, घर नजाऊ, एड्मिट होऊ । आज/भोलिमा तिम्रो बच्चा जन्मिन्छ ।' मलाई कतै नदुखी कस्तो लेबर पेन सुरु भयो होला । म अचम्भित भएँ । उनले आफ्नो मेशिनमा देखाउँदै भनिन्, 'ई, यसरी पेन भएको पनि तिमीले थाहा पाएनौ भने कसरी हुन्छ ?' तर तयारी गरेर आउन पर्यो भनेर हामी निस्कियौं । घरमा शाशुले 'झूठो कुरा हो, डाक्टरको पेशा नै त्यसरी चल्छ' भन्दा कताकता हो जस्तै पनि लाग्यो तर डाक्टरको कुरा नै सही हो कि भनेर डर पनि लाग्यो । त्यो दिन सामान्य रुपमै बित्यो । साँझ इभिनिंग वाक जाँदा साथीलाई सुनाएँ । २ छोराछोरीकी आमा, उसलाई त अनुभव छ भनेर सल्लाह मागें । 'तेरो लक्षण हेर्दा त तेस्तो लाग्दैन, केही दुखाइ महसुस भएको छ त?' भनेर सोधी । मैले 'खोइ?' भनें । पेटमा त बच्चा बसेदेखि कहिल्यै दुखेकै छैन । डाक्टरले दिएको डिउ डेट पनि अझै २४ दिन बाँकी छ । उसले पनि 'सजग रहनु, केही शंका लागे डाक्टरकहाँ गइहाल्नु, नकुर्नु' भन्ने सल्लाह दिई । भोलिपल्टको दिन पनि यसै बित्यो । राति हामी सबै सँगै बसेर यु ट्युवमा ऊँ नमः शिवाय हिन्दी सिरियल हेरिरहेका थियौं । ११ बजेपछि मलाई मनमा कतै आज राति नै बच्चा जन्मिने हो कि जस्तो आभाष भयो । मैले आफ्नो कुरा राख्दा शाशु आमाले 'भोलि बिहानै जानु यदि डाक्टरलाई भेट्न मन भए, तेरो अनुहार हेरेर, लक्षण हेरेर कतै लाग्दैन बच्चा जन्माउने । राति जाने काम छैन' भनेर आफ्नो कोठातिर लाग्नुभयो । श्रीमानज्यु अघिल्लै दिन देखि भित्रभित्रै डराएका थिए । यसले अभर पार्ली भन्ने डर । उनले भने, 'यदि तिमीलाई शंका छ भने गइहालौं ।' हामीले डाक्टरले हिजो सम्झाउने बित्तिकै किनमेल गरेर ब्याग तयार पारेका थियौं । उसले आमालाई हिंड्नुुस् अब अस्पतालमै सुत्नू भन्यो र हामी गइहाल्यौं । 

अस्पतालमा नर्स रिसाइन् । 'डाक्टरले सुत्नु पर्दैन, आराम गर्नुपर्दैन? तिमीलाई दिउँसोभरी केही भएन? ऐले राति बल्ल भयो?' भन्दै कराउँदै भए पनि उनले डाक्टर बोलाइछिन् । डाक्टरले मायाले सोधपुछ गरेर आफ्नो मेशिनले जाँचेर नर्सलाई निर्देशनहरु दिएर फर्किन् । हामीले रात त्यहीं काट्यौं । नर्सले तपाईंको भोलि १२ बजेपछि बच्चा जन्मिन्छ भनेर घोषणा गरेर क्यानुला लगाएर एनएस दिन थालेर निस्किन् । शाशु आमा सुत्नुभयो, म पनि केहीबेरमा निदाएँ । 

बिहान घर गएर शाशु आमाले खानेकुरा बनाएर ल्याउनुभयो तर खान सकिंन, वान्ता भयो । छिमेककी दिदी भेट्न आएकी थिइन्, 'एस्तो मान्छेले कसरी बच्चा जन्माउँछ? हाँसी राख्या छ्े, बोलिराख्या छे न कहीं दुख्या छ न गाह्रो भएको देखिन्छ । यसलाई राख्छन् अब हस्पिटलमा । तपाईंहरु बस्नुस्, म ऐले गएँ । केही पर्यो भने मलाई खबर गर्नु नि ।' भन्दै उनी निस्केपछि नर्सले आएर मलाई हिंड्ने सुझाव दिइन् । केहीबेरमा उठवस गर्न लगाइन् र त्यसको करिब २० मिनेटमा मैले छोरी जन्माएँ । दुखेन कतिबेला पनि, केही गाह्रो भएन । मात्र मैले कोशिस गरें र त्यसो गर्दा शिव नाम जपें । मलाई नर्मल डेलिभरी गर्नु छ त्यसैले आफैं कोशिस गर्नुपर्छ अन्यथा सिजेरियन सेक्सन भन्न डाक्टरलाई कत्ति पनि समय लाग्दैन भन्ने मलाई लाग्यो, र मैले भगवान शिवसँग प्रार्थना गरिरहें । 

छोरीको अनुहार मलाई देखाउन आएकी नर्सले भनिन्, तपाईं जस्तै बिरामी आए भने हाम्रो काम धेरै सजिलो हुन्छ । मलाई खुशी लाग्यो । मैले भोलेनाथप्रति आभार व्यक्त गरें । 

मानिसहरु भन्छन् बच्चा जन्माउँदा हुने दुखाई दुखाईको १ देखि १० सम्मको स्केलमा ७ या ८ तिर पर्छ तर मैले कुनै कष्ट बीना छोरी जन्माएँ । यो कस्तो परमकृपा थियो । ईश्वर दाहिना हुनु भनेको पनि यही रहेछ । जब हामी पूर्ण रुपमा समर्पित हुन्छौं अनि वहाँले हामीलाई धारण गर्नुहुन्छ । हाम्रो सुख दुख शान्ति संवृद्धि सबैको जिम्मा लिदिनुहुन्छ । यसरी समर्पित हुँदा मैले जीवनलाई आशीर्वादको रुपमा पाएँ । 

जन्मने बित्तिकैको इराको फोटोको AI version
        ध्यानमूलं गुरुर्मूर्तिः        

पूजामूलं गुरुर्पदम् ।

मन्त्रमूलं गुरुर्वाक्यं

मोक्षमूलं गुरूर्कृपा ॥

परमकृपा हि केवलम् ।

परमकृपा हि केवलम् 

परमकृपा हि केवलम् ।

अब छोरी आठ वर्ष पूरा भइन् । उनलाई पनि गुरुधाम लैजान्छौं । अहिले खेल्छिन्, जपध्यान गर्दिनन्, तर ज्ञानको कुरा गर्छिन् । परमगुरुदेव, गुरुआमा, दिव्यगुरुप्रति श्रद्धा भाव राख्छिन् । उनको श्रद्धा र आस्थालाई भक्तिको मार्गमा लगाउन सकौं यही कोशिस हो । त्यसो त परमचक्षुको दृष्टिमा पर्न पाउनु आफैंमा केही न केही पुण्यताको प्रतिफल हो । उनले आफूमा ल्याएकि रहिछन् र त यति सानो उमेरमै गुरुधामको आँगनमा खेल्न पाएकि छिन् । परमकृपाको वर्षात त अविरल भइ नै रहेको छ । हामीले धारण गर्नसक्ने पात्रता बढाउने बाहेक अरु कुनै कुरामा हाम्रो मेहनत चाहिएको छैन । यति गर्न सकियोस् । हरेक व्यक्तिले परमकृपा महसुस गरी परमरसको आनन्द लिन पाउन्, त्यसका लागि जे गर्न सकिन्छ त्यसमा आफू लागि पर्न सकुँ ।जीवनको उद्देश्य यही हो । श्री ऊँ प्रभू । श्री ऊँ परम प्रभू ।।