जरा खोज्दै प्रकाशपुर - Revisiting where I was born after 26 years

 २०४२ सालमा छोडेको ठाउँ, २०६९ असारमा फर्किंदा — बाले पढाएका विद्यार्थीहरु, र "बिमल सरकी छोरीलाई यो घर सधैं आफ्नै हो" भन्ने स्नेह । जरा खोज्न गएकी थिएँ, घर भेटें ।

२०४२ साल फागुनमा हामी सधैंको लागि प्रकाशपुर छोडेर झुम्का बसाईं सरेका थियौं, त्यसबेला धेरै सानि भएकाले मलाई यहाँका कुनै पनि कुरा याद छैन । हिजो मिति २०६९ असार २२ गते सोमबार, यो ठाउँ छोडेर गएको २६ वर्ष सात महिना पछि फर्कंदा यो ठाउँमा मैले पातलो बस्ती भेटें, लाइनवद्ध भएर बसेका घरहरु रहेछन् बाटोको दाँया बाँया । झुम्काबाट आउँदैगर्दा बाटोमा रामधुनी जंगल प¥यो, १० वर्षअघि पुष्पा र मनु दाजुसँग एकपटक रामधुनी पनि आएकी थिएँ, त्यो बेला पनि प्रकाशपुर आउने खुब रहर थियो तर साइकल लिएर सुनसरी खोला तर्न सकिएन त्यसैले फर्किएका थियौं । मलाई आफु जन्मेको ठाउँ हेर्ने ठूलो धोको थियो । आज पूरा हुँदैछ । संभवत आज म त्यही ठाउँमा पुग्नेछु जहाँ म जन्मेकी थिएँ । मन उत्साहित छ ।

अबका केहीदिन बीचमा मैले केही गजबका कथाहरु खोज्नु छ । ठूलो ममीका आफन्त श्रीप्रसाद खतिवडा काकाको घरमा बसेर भेषराज दाहाल काकाको सहयोग लिएर मैले प्रकाशपुर घुम्न सुरु गरेकी छु । बिहान ६ बज्दा भेषराज काका साइकलको घण्टी बजाउँदै आइपुग्नुभयो, “लु अब जाऔं, म तिमीलाई निरञ्जनको घरमा छोडिदिन्छु ।”
हतारहतार दाँत माझेर म वहाँको पछि लागें, काकाले साइकलमा डबल लोड जान नमिल्ने कुरा गर्नुभयो भने  अर्को साइकल उपलब्ध भएपनि म चलाउन सक्दिन भनी म हच्किएँ । २०५९ साल असार यता साइकल कुदाएकै छैन त्यसैले मलाई आँट आएन ।
निरन्जन चन्द्रवंशी स्थानीय नेता (नेपाली कांंग्रेस) तथा कृषक भएकाले उनले मलाई सहयोग गर्न सक्छन् भन्ने भेषराज काकाको ठम्याइ रहेछ । हामीले उनलाई उनको खेतमा फेलापा¥यौं, आलुु रोप्नको लागि खेत जोत्न उनी आफ्ना भान्जालाई सँगै लिएर आएका थिए । भेषराज काकाले मेरो परिचय दिनुभयो । “बिमल सरले मलाई पनि पढाउनु भएको हो” निरन्जन काकाले भने । ड्याडी ममीलाई चिन्ने प्रशस्त मान्छे प्रकाशपुरमा हुनुले मेरो लागि सहज वातावरण निर्माण गरिदिने निश्चित छ । अघिल्लो पुस्ताका अधिकांश मानिस ड्याडीका विद्यार्थी भएकाले मैले ड्याडीको नाम जोडेर आफुलाई परिचित गराउन सक्छु ।
निरन्जन काकाले मलाई केही नामहरु दिनुभएको छ र उनीहरुको बारेमा सामान्य जानकारी पनि दिनुभएको छ जसको कथा मैले अध्ययन गर्न मिल्छ भन्ने मलाई लागेको छ । सम्वन्धीत व्यक्तिलाई भेटेपछि भने म यस सम्वन्धी केही धारणा बनाउन सक्छु । आजको भ्रमणको विशेष पक्षभनेको निरञ्जन काकाको घरका खान्की हो । उसिना चामलको भात र लेदो पारिएको सागहरुको तरकारी...। झण्डै ३० वर्षको उमेरमा पहिलोपल्ट यो खान्की मुखमा हाल्दा मीठो लागिहाल्ने चान्सेस त कम हुन्छ नै, भोक मेट्ने गरी खान नसके पनि मैले वहाँहरुको मन भने राखें । चना, मटर र नरिवलमा चिनी मिसेको जितियाको प्रसाद पनि खाएँ । मलाई चन्द्रवंशी (चाईं) को परिवारमा भन्दा पनि उराव (झाँगड)को परिवारमा खाना खान मन छ । मेरी धाइ आमा (जसलाई श्री कि आमाको नामले चिनिन्थ्यो)को सम्झनामा म एक झाँगड परिवारमा खाना खान चाहन्छु । हेरौं यसपाली त्यो अवसर जुर्छ जुर्दैन...।

आज एकतमासले पानी परिरहेको छ । निरन्जन काकाका अनुसार जितिया पावनी पछि पानी परेमा धानलाई सोह्रै आना फलाउँछ भन्ने विश्वास गरिन्छ रे अनि पानी परेन भने चाहिं अन्न उब्जनी राम्रोसँग हुँदैन रे । हिजो जितिया थियो, आजदेखि अब कतिदिन पानी परिरहनेछ भन्न सकिन्न रे । फेसबुकका स्टाटस अपडेट हेर्दा पानी धेरैतिर परेजस्तो छ । लहरी दिदीले “पानीले रड्स ग¥यो, नरमाइलो लागेको छ” लेख्नुभएको छ भने अपेक्षा भट्टले “आइ एम लभिङ्ग दिस रेन” लेखेकी छिन् ।

म आज स्कुल भ्रमणमा पनि जाँदैछु । चाईं तथा झाँगड बस्ती बढी भएको र म उनीहरुकै बारेमा कथा खोज्न आएकी हुनाले मैले ती जातिका बालबालिकाको स्कुलमा कस्तोे उपस्थिति छ भनी जान्ने इच्छा भएको बताएँ । भेषराज काकाले “प्रकाश उच्च मावि प्रकाशपुर पु¥याएर प्रधानाध्यापक रोहित घिमिरेलाई भेटाइदिन्छु, उनी बिमल दाइका मिल्ने साथी हुन्” भन्नुभएको छ । यस कुरामा म निकै उत्साहित छु । आफ्नो काम बन्ने भयो भनेर मात्रै होइन, बा श्याम भाइ लुईंटेलले हाड छाला घोटेर रातो दिन खटेर बनाएको स्कुल भ्रमण गर्न पाउने भएकाले पनि । यो त्यही स्कुल हो जहाँ ड्याडीले २०२४ सालमा एसएलसी पास गरदेखि अध्यापन सुरु गर्नुभएको थियो र २०४२ सालमा सरुवा भएर बसाईं सरी झुम्का नजाउन्जेलसम्म पढाउनुभएको थियो । ड्याडीले सुरुगर्दा प्रा.वि. र छोड्दा मा.वि सो विद्यालय हाल उच्च मा.वि. बनिसकेको छ । मैले नभए पनि हाम्रो अंकल, दिदी (फुपु)हरु अनि दिदीले र सायद दाजुले पनि केही समय यो विद्यालयमा पढ्नुभएको थियो । विद्यालय यसै पनि महत्वपर्ण स्थल हुँदै हो, अझ यो विद्यालय मेरो लागि अरुभन्दा विशेष छ ।

अहिले साँझको सात बजेर सोह्र मिनेट गयो । भन्नुको अर्थ बिहानको बसाइको लेख अधुरै थियो, यो दोस्रो बसाइ हो ।
“कान्छि छोरी, हिंड म तिमीलाई स्कुल पु¥याइदिन्छु । फेरि प्रिन्सिपल भेटिएनन् भने तिमीले काम गर्नै पाउँदिनौ ।” यो लेख्दालेख्दै भेषराज काकाको यो आवाज आयो अनि म हतारिंदै ओर्लेर वहाँको साइकलको पछाडि बसें । “श्री प्रकाश उच्च माध्यमिक विद्यालय प्रकाशपुर, वेल्कम” लेखिएको गेट देख्दा मलाई एकदमै आनन्द लाग्यो । अफिसभित्र बसिरहनुभएका शिक्षक बाबुराम कार्कीले ड्याडीको नाम सुन्नेबित्तिकै मलाई बसाएर कामको बारेमा सोधपुछ गर्नुभयो । तुरुन्तै ड्याडीको नम्बर मागेर फोन गर्नुभयो अनि मलाई चन्द्रवंशी, उराव तथा मण्डल विद्यार्थीको संख्या पत्ता लगाउन भन्दै स्कुलका सबै हाजिर खाता उपलब्ध गराइदिनुभयो । काम सकिने बित्तिकै वहाँले मलाई “तिम्रो ड्याडीले बसेर काम गर्नेगरेको ठाउँ देखाउँछु आऊ” भनेर क्यान्टिनतिर लिएर जानुभयो अनि “यहाँ प्रिन्सिपलको कोठा थियो, यहाँ चाहिं तिम्रो ड्याडी प्रशाशनको काम गर्नुहुन्थ्यो, पढाउनु पनि हुन्थ्यो । ल आऊ बस ।” आज मैले त्यहाँ बसेर क्यान्टिनमा बनेको चनाको तरकारी र चिउरा खाएँ । सबैतिर पक्की बनिसकेको सो भवन पहिले काठैकाठको थियो रे, २०२१ सालमा स्थापित गरिएको सो विद्यालयलाई २०३२ सालमा छविलाल पौडेल हजुरबुवाले आफ्नो जग्गा दिएर प्राथमिक विद्यालयलाई माध्यमिक बनाउनुभएको थियो रे । प्रधानाध्यापक इनरुवा जानुभएको कारण भेट भएन । वहाँको श्रीमति गीता आचार्य त्यहीं पढाउनुहुँदोरहेछ, वहाँले ममी ड्याडी, अंकल, दिदीहरु, काकि सबैको बारेमा कुरा गर्नुभयो । “वहाँहरुको विवाहको समय ड्याडीले विवाहको विरोधीहरुलाई बजारमा पार्टी दिन्छु भनी बोलाउनु भयो अनि अर्कोतिर रोहित अंकल र गीता आन्टीको विवाह भयो” भन्दै भेषराज काकाले फर्कंदा मलाई कहानी सुनाउनुभयो ।

आजको दिन भेटघाट कुराकानीमा बित्यो । साँझ डाक्टर अंकल शोभाकान्तकहाँ पुगें, वहाँसँग मेरा हात गोडाका मुसाको औषधी लिएकी छु । ड्याडीकोे असाध्यै मिल्ने साथी, त्यसबेला विद्यालयमा स्वास्थ्य विषय पढाउने शिक्षक तथा स्थानीयवासीलाई होमियोपेथिक औषधी उपलब्ध गराउने डाक्टर शोभाकान्त दास जसको नाम मात्र होइन अनुहार पनि मेरो निम्ति परिचित जस्तै थियो । औषधीको कति पैसा भयो? भन्ने मेरो प्रश्नमा वहाँले भन्नुभयो, “अँ, मगाउनु नि बुवालाई भनेर काठमाडौंबाट । मलाई फोन गरेर कति पैसा भयो भनेर सोध्न लगाउनु ।”
भेटेजति बोलेजति सबै मानिसले एउटा कुरा भन्न छुटाएनन् त्यो के भने, “तिमीले यो नसोच्नु कि बस्ने ठाउँ छैन । जहाँ बसेकी छ्यौ त्यहाँ अफ्ठ्यारो छ भने आऊ । यो तिम्रो घर हो, तिमी आफ्नो घर आएकी छ्यौ । बिमल सरकी छोरीलाई मेरो घर सधैं आफ्नै घर हो, आएर जति दिन बसे पनि हुन्छ । चिन्ता नगर्नु, अफ्ठ्यारो नमान्नु । है?” मन खुशीले गद्गद भएको छ । जन्मभूमीले यसरी न्यानोपन दिंदोरहेछ मान्छेलाई... म आफ्ना अभिभावक, आफ्ना पिता पुर्खा, कुल खान्दानको नाम, इज्जत र यो ठाउँका निम्ति वहाँहरुले पु¥याउनुभएको योगदानप्रति गौरवान्वित छु, वहाँहरुको कर्मको फलस्वरुप आज प्रकाशपुरले मलाई आत्मियता र स्नेहले अंगालेको छ । वहाँहरुले रचेको इतिहासले मेरो वर्तमानलाई सुरक्षित बनाएको छ । बाले पु¥याउनुभएको योगदानको निम्ति भनी तयार गरेको कदरपत्र गाविसमा राखिएको छ रे, गंगा सुवेदी (प्रजातान्त्रिक नेता तथा प्रकाशपुर गाविस विकासमा बा श्यामभाइ लुईंटेलका सहयात्री स्वर्गीय चुडामणी सुवेदीका छोरा)ले मलाई त्यो कदरपत्र घर लिई जान भोलि या पर्सि दिनुहुनेछ । आफुले स्थापना गरेको विद्यालय उच्च मावि भएको हेर्न बा त रहनुभएन तर अग्रजको कर्मको परिणाम हेर्न म भने यहाँ आइपुगेकी छु अनि कृत कृत भएकी छु । मेरो मन आल्हादित छ... आज मैले आफु जन्मेको ठाउँ देखें ।