बन्धन र मुक्तिको खेल - What is the freedom we are looking for?

 


मुक्त
तिमी मुक्तिको कुरा गर्छौ
को बाट मुक्ति?
के बाट मुक्ति?
कस्तो मुक्ति?
पारिवारिक बन्धनबाट मुक्ति?
उनका आशा अपेक्षाबाट मुक्ति?
उनका सपना संघर्षबाट मुक्ति?
उनका भरोषा प्रार्थनाबाट मुक्ति?
के बाट मुक्ति??
तिम्रा आशा अपेक्षाबाट सबैलाई मुक्ति दिइसकेर तिमी मुक्ति माग्दैछौ?
तिम्रा सपना संघर्षबाट के तिमी मुक्त भइसक्यौ?
तिम्रो भरोषाको जग कहाँ गाडिएको छ?
के तिमीले प्रार्थना पनि गर्ने गरेको छौ?
कतै कसैको हात समातेर शक्तिपीठमा गई हात जोडेको त छैनौ?
कहिल्यै बुबाको अघि ढाडस देखाउँदै मागको थैलि खोलेको त छैनौ?
या आमाको संवेदनशीलताको फाइदा उठाएर आफ्नो इच्छाको पोषण गरेको त छैनौ?
तिम्रा हरेक क्रियाकलापलाई आत्मसन्तुष्टिका साथ हेर्ने ती आँखामा आज तिम्रै कारण आसु बगेका पो छन् कि?
क्षमा त उनले तिमीलाई गर्छन् कुनै शंका छैन तर तिमी त्यसमा सन्तुष्ट हुन्छौ या हुँदैनौ तिमीले आफूलाई जाँच्नु पर्ला
जति लिए पनि नअघाउने भएर नै छोराछोरी भएर जन्मिने होला
जति दिए पनि कमै गरें सम्झने भएर बुबा आमा बन्ने होला
धर्तीका सन्तान हामी, प्रकृतिमाता कति दिन्छिन् दिन्छिन् हामी उनैलाई चिथोरी रहन्छौं उनी क्षमा गरिरहन्छिन्
परमपिता परमेश्वर.. स्वार्थवश हामीले मागेका इच्छा पनि आँखा चिम्लेरै पूरा गरिदिन्छन्
हाम्रा हजारौं गल्ती, कमजोरी, हाम्रा कुविचार, कुभाव, हाम्रा इश्र्या, जलन
देखी देखी बुझी बुझी पनि हामीले हात जोडिदिंदा शिर निहुराइदिंदा
सन्तानप्रेमले ओतप्रोत भई करुणाको वर्षात गरिदिन्छन्
जति पाए पनि पाएँ भन्ने कतै लाग्दैन हामीलाई
सानो अफ्ठ्यारो आइपर्दा भगवान नै छैनन्, भगवान भए ममाथि दुःख हुने थिएन भन्छौं
जसको कारण प्राण पायौं, भोजन पायौं, जीवन पायौं, हामी दाता माथि नै औंला ठड्याउँछौं
आफ्ना आलश्य, शंका, भय, अहंकारको दास हामी मुक्तिको कुरा गर्छौं
आफैंले सिर्जाएको रागहरुको बस्तीमा बसेर हामी उन्मुक्तिको कुरा गर्छौं
मानिस त ऊ पनि, त्यो पनि, तिमी पनि, म पनि मासु, हड्डि, बोसो, रगत, मासि
आकारको के कुरा भयो र? रंगको के कुरा भयो र? ढाँचाको के कुरा भयो र? उमेरको के कुरा भयो र?
मानिस त ऊ पनि, त्यो पनि, तिमी पनि, म पनि जसलाई हामीले आफू भन्छौं
ृत्यसको न आकार छ न रंग छ न ढाँचा छ न उमेर छ
त्यसको न भाव छ न विचार छ न व्यवहार न अभिव्यक्ति छ
शान्त छ पवित्र छ चैतन्य ऊ ज्योर्तिमय छ
इन्द्रियले देख्ने सम्म मात्रै हो बन्धन र मुक्तिको खेल
त्यसदेखि पर न तिम्रो छ न मेरो छ
छ त केवल उसको जसले यो जीवन दिएको छ