सास रहुन्जेल आस - I don't want you to die

सास रहुन्जेल आस भनेको के हो?

तिमी मृत्यु शैंयामा संघर्ष गरिरहँदा

तिम्रा शरीरभरी टाँगिएका पाइप र नलीहरु हँटाएर 

क्यानुला र क्याथेटर हँटाएर

सकुशल अस्पतालबाट घर ल्याउन पाउँ

"आमा" भनी बोलाउँदा, "छोरी, तिमी आयौ?" भनी तिमीले मुस्कुराएको हेर्न पाउँ

म कर्मथलो फर्कन लाग्दा, आशिर्वादमा तिम्रो हात मेरो शिरमाथि भैदियोस्

विदेशको मेरो कर्मथलो हेर्न तिमीलाई एकपल्ट लिएर जान पाउँ

आफूले घुमेका सबै ठाउँ तिमीलाई देखाउन पाउँ

सानो छँदा तिमीले पठाएको स्कूलबाट सुरु गरेको यात्रामा म ऐले कहाँ पुगें

एकपल्ट तिमीलाई त्यहाँसम्म पुयाउन पाउँ

के मैले बढी मागें त आफ्नो जीवनसँग?

तिमी रोगले थलिंदै गर्दा मैले जीवनको संघर्ष रोजें, नपढी यहाँ पुग्ने थिईंन

तिम्रो लागि आज जे गर्न सक्ने भएँ, त्यो गर्न सक्ने थिईंन

तिमीले मेरा लागि देखेका सपना पनि त उत्तिकै प्रिय भए मलाई, जति तिमी

तिम्रो स्वास्थ्य सुधार हुँदै जाँदा लाग्यो मैले ठीकै गरेंछु

तिमीलाई संसार घुमाउने मेरो सपना पूरा हुने भयो

कस्तो आशा

म तिम्रो आउने दिनको गन्ती गर्दै थिएँ

तिम्रो स्वास्थ्य सधैंभन्दा गम्भीर भएको खबर पाएँ

सबै सपना पूरा हुँदैनन्

धन्य तिम्रो अन्तिम अवस्थामा मैले तिम्रो दर्शन गर्न पाएँ

"आमा, आमा" भनी बोलाउँदा, तिम्रा आँखा चल्मलाए जस्तो लाग्यो

बोलाइरहे तिमी विस्तारै उठ्छ्यौ जस्तो लाग्यो

आमा, मलाई त्यो आइसियुको भेन्टिलेटर भन्दा बढी मेरो आवाजले तिमीलाई बँचाउला जस्तो लाग्यो

कस्तो आशा

तिमीले शरीर त्याग गरेर गयौ

तिम्रो शारीरिक संघर्षको अन्त्य भयो

तिम्रो आत्माले चीर शान्ति पाओस् आमा,

तिम्रो यस जीवनका हर एक संघर्ष अब कहिल्यै नदोहोरिउन्

तिमी आकाशमा बसेर हामीले पुगेका हरेक ठाउँ हेर है आमा?

हाम्रा संघर्षमा विश्वास बनेर मनमा बसिदेऊ

हाम्रा डरहरुमा शक्ति बनेर आइदेऊ

अब त तिम्रा खुट्टा कुँजिएर हिड््न नसक्ने हुँदैन

अब त शरीरले तिमीलाई बाँध्न सक्दैन

अब तिमी हाम्रै साथ रहु न है आमा?

मलाई बाल्यकालमा तिमीले गाएको लोरी जस्तै मीठो जीवन मनपर्छ