आवरणभित्रको म



म 

मन पराउँदा 

ज्यान फालेर मन पराउने मान्छे

मन नपराउँदा 

चुपचाप दूरी बढाउने मान्छे

माया र घृणाको कुरा नगरौं हजुर, 

माया र घृणाको कुरा नगरौं हजुर, 

हिजोआज 

मछ्छडको पनि माया लाग्न थालेको छ

आफ्नै भनिएको मनको पनि 

वास्ता गर्न छोडिएको छ 

तिम्रो भाव, विचार

तिम्रो मन, बुद्धि

जो तिमी नै होइनौ 

त्यसलाई 

मैले

मन पराउनु किन?

मन नपराउनु किन?

जो तिमी नै होइनौ 

त्यसलाई 

मुसार्नु स्याहार्नु को के अर्थ

दुत्कार्नु लल्कार्नु को के अर्थ?

तिमी भन्छौ मैले तिमीसँग बोलिंन

म त 

आफूले आफैंसँग बनाएको 

दूरी पुर्नमा व्यस्त छु 

तिमी भन्छौ 

मैले तिमीलाई बुझिंन

म 

आफूलाई हेर्न र बुझ्न मै व्यस्त छु 

अब तिमी आफ्ना गन्थन आफूतिर फर्काऊ

आफूले आफैंलाई हेर

आफैंलाई बुझ

आफैंलाई चिन

मलाई मतिरै फर्कन छोडिदेऊ

तिमी 

आफूलाई खोज र भेट्टाऊ

म 

आफूलाई खोजेर भेट्टाउँछु 

तिमीले आफूलाई भेटेको दिन 

मलाई चिन्नेछौ

मैले पनि आफूलाई भेटेको दिन 

सबैलाई चिन्नेछु 

त्यसबेला हामी 

फेरि भेटौंला नि

यात्रा गर्न पनि तब न मजा आउला 

जब आफूले आफूलाई चिनेको होस्

जब एकले अर्कालाई साँच्चै चिनेको होस्

बेहोसीको यात्रा त हिजो पनि गरेकै हो

आज केही नयाँ त हुनुप¥यो नि, हैन?